वैद्यखानाले जिएमपी मापदण्डको औषधि उत्पादन गर्ने

 

काठमाडौँ, २६ मंसिर । सिंहदरबार वैद्यखाना विकास समितिले यसै वर्षबाट जिएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्ने भएको छ ।

वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले चालु आवको अन्त्यसम्मका कम्तीमा चार उत्पादन जिएमपीअर्थात गुड म्यानुफ्याक्चरीङ प्राक्टिसअनुसार उत्पादन गरिने जानकारी दिए ।

त्यसका लागि अन्तरराष्ट्रिय मापदण्डमा आधारित उत्पादन गर्न पहिलो चरणको गृहकार्य सकिएको उनले बताए । प्रबन्ध निर्देशक खरेलले वैद्यखाना नेपालको सबैभन्दा पुरानो आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग भएकाले यसका उत्पादनलाई पनि अन्तरराष्ट्रिय मापदण्डअनुसार बनाउन आगामी पाँच वर्षमा सबै उत्पादन जिएमपी मापदण्डअनुसार उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

स्वास्थ्य नीति २०७१ अनुसार औषधि उत्पादन गर्दै आएको वैद्यखाना सिंहदरबार वैद्यखानाले २०५२ सालदेखि समितिमार्फत सञ्चालन हुँदै आएको छ । जिएमपीमा जानका लागि औषधि व्यवस्था विभागबाट समितिले स्वीकृति पाइसकेको छ । जिएमपीमा जानका लागि कुनै पनि औषधि उद्योगले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको उपकरण प्रयोग गरी उत्पादन गर्नुपर्ने हुन्छ ।

उत्पादन भएको औषधि परीक्षण गर्ने ल्याब पनि सोहीअनुसारको हुनुपर्छ । समितिले उत्पादन गरेका पाउडर (चूर्ण), ट्याब्लेट र क्याप्सुलका विभिन्न उत्पादनलाई जिएमपीअनुसार उत्पादन गर्ने तयारी गरेको छ ।

जिएमपीमा औषधि जाने भएपछि विश्वबजारमा उचित मूल्यमा बिक्री–वितरण भई व्यवसायीलाई फाइदा हुने वैद्यखानाको भनाइ छ । समितिले देशमा उपलब्ध प्राकृतिक जडीबुटीको प्रयोग गरी १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गर्दै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *