‘थालासेमिया रोगको उपचारमा सरकारले सहयोग गर्नेछ’

काठमाडौँ, ३१ असोज । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले थालासेमिया रोगको उपचारमा सहुलियत दिने कार्य अघि बढेको बताएका छन् ।

उनले सिकलसेल एनिमिया जस्तै थालासेमिया रोगको उपचारमा सरकारले सहुलियत दिने अघि बढेको बताएका हुन् । सरकारले सूचीकृत अस्पतालमा सिकलसेल एनिमियाको उपचारमा एक लाख रुपैयाँ सहुलियत प्रदान गर्दै आएको छ ।

थालासेमिया इन्टरनेशनल फेडरेसन साइप्रसका लागि डा एन्डुला इलेफ्थेरीयोले लेखेको पुस्तक अबाउट् थालासेमियाको नेपाली संस्करण थालासेमिया बारे पुस्तकको विमोचन गर्न पुगेका मन्त्री पोखरेलले खर्चालु र जटिल मानिएको रोग थालासेमियाबाट पिडीतहरुको उपचारमा सरकारले अहिलेसम्म केही गर्न नसकेको भन्दै सहुलियत जरुरी रहेको बताए ।

‘यसपटकलाई हामीले मन्त्रालयबाटै के कसरी दिन सकिन्छ त्यसमा पहल हुन्छ । तर अर्कोपटकबाट बजेटमै व्यवस्था गर्ने गरी यसलाई सहयोग हुनेछ । त्यसका लागि चैत बैशाख देखिनै तपाईँहरुले दवाव बढाउनुहोला,’ मन्त्री पोखरेलले भने ।

अंग्रेजीमा लेखिएको पुस्तक ‘अबाउट थालासेमिया’लाई कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा अजित रायमाझीले नेपालीमा अनुवाद गरेका हुन् ।

सो पुस्तकमा थालासेमिया रोग, यसका लक्षण, यससंग जोडिएका अरु स्वास्थ्यसमस्या, बच्ने उपाय, जीवनशैलीमा परिवर्तन गर्ने कुराहरु सरल ढंगले उठाइएको छ । ‘जटिल केश बाहेक अन्यमा यो पुस्तकले डाक्टरकै हाराहामीमा काम गर्न सक्छ,’ डा. रायमाझीले भने ।

उनले पुस्तकले थालासेमिया रोग यसले दिने दुख र समाधानका उपायमा विरामी र तिनका अभिभावक तथा अन्य सर्वसाधारणलाई सहयोग पुरयाउने बताए ।

कार्यक्रममा बोल्दै नेपाल थालासेमिया सोसाइटीका अध्यक्ष  दुर्गा पाठकले थालासेमिया रोग जन्मजात लाग्ने रोग, अति खर्चालु रोग भएपनि सरकारले यसमा सहुलियत दिने कुनै चासो नराखेको बताए । उनले आफू नेतृत्वको सोसाइटीमा तीन सय बढी सम्पर्कमा आएका अढाई सय दर्ता भएका र १२७ बढीले रगत प्रत्यारोपण गराई रहेका बताए ।

कार्यक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार डा विनोदमान श्रेष्ठ, प्रयोगशालाका निर्देशक डा रुणा झा, रक्तरोग विशेषज्ञ डा विशेष पौडेल लगायतले बोलेका थिए । सो अवसरमा थालासेमिया रोग उपचारका लागि सहयोग गरेको भन्दै डा अजित रायमाझी, बागेश्वरी श्रेष्ठ र छोटेलाल रौनियारलाई सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *