म्याग्दीबाट मात्रै १६ प्रजातिका जडीबुटी निकासी

52
Shares

बेनी, ११ भदौ । पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३/७४ मा विभिन्न १६ प्रजातिका छ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको छ ।

जिल्लाका विभिन्न खर्क, जंगल र पाखोहरुबाट संकलन गरिएका पाँच हजार, ९८४ दशमलव सात किलो जडीबुटी निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा रहेका सामुदायिक वनबाट शक्तिबर्दक एवं बहुमूल्य जडीबुटी निकासी गरिएको सहायक वन अधिकृत राजकुमार ठाकुरले बताए । “हरेक वर्ष निकासीमा वृद्धि भएको छ”, सहायक वन अधिकृत ठाकुरले भने । उनका अनुसार गैरकाष्ठ वन पैदावारमध्ये सबैभन्दा धेरै विषजरा एक हजार ५०० किलो, अल्लो एक हजार २०० किलो, भिरमह ६४० र नागबेली पाउडर ६०० किलो निकासी भएको छ ।

जिल्लाको माथिल्लो तथा उच्च पहाडी क्षेत्रबाट यार्सागुम्बा, निरमसी, सतुवा, पाँचऔँलेलगायतका जडीबुटी बाहिरिने गरेकामा यस वर्ष अपेक्षा गरेअनुसारको निकासी नभएको जिल्ला वन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

गत आव पदमचाल ४५०, सतुवा ४४९, सुगन्धवाल तीन, साधारण च्याउ २८६, निरमसी २१७, कुटकी दुई, सिलाजित ५० किलो निकासी भएको छ ।

यसैगरी मैन ३०, अतिस २२, वनलसुन २०, लौठसल्ला १६ र यार्सागुम्बा ३ दशमलव ७ किलोमात्रै निकासी भएको वन कार्यालयले जनाएको छ । विभिन्न किसिमका कपडा बनाउन प्रयोग गरिने अल्लो पुवा एक हजार २०० सय किलो निकासी भएको छ ।

गत वर्ष निकासी भएका जडीबुटीबाट कुल रु दुई लाख ५२ हजार राजस्व संकलन भएको थियो । जडीबुटी संकलनका लागि न्यूनतम रु पाँच हजारदेखि अधिकतम २५ हजारसम्म राजस्व तिर्नुपर्ने कानूनी प्रावधान रहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *