नेपालसहित १८ देशका १५० बढी अर्थोडोन्टिक्स काठमाडौँमा

काठमाडौँ, २ जेठ । दक्षिण एसियाका अर्थोडोन्टिक (दाँतमा तार बाँध्ने वा ब्रसेज विशेषज्ञ ) काठमाडौँमा भेला भएका छन् । उनीहरुले पछिल्लो समय विकास भएको उपचार पद्धतिबारे छलफल गर्दैछन् ।

साउथ एसिया इन्टरनेसनल अर्थोडोन्टिक काँग्रेसको दोस्रो एवम् अर्थोडोन्टिक तथा अर्थोफेसियल अर्थोपेडिक एसोसियसन नेपाल (ओडाअन)को सातौँ सम्मेलनमा नेपालसहित १८ देशका १५० देशका अर्थोडोन्टिक सर्जनले आज र भोलि (मङ्गलबार र बुधबार) आआफ्ना देशका उपचार पद्धति र सेवा विस्तारका बारेमा अनुभव साटासाट गर्नेछन् ।

एसोसियसनका अध्यक्ष प्रा डा प्रकाश भट्टराईका अनुसार दुई वर्ष पहिले तय भएको कार्यक्रम भए पनि भूकम्पका कारण सम्मेलन स्थगन भएको थियो । पाकिस्तान बाहेक सार्कका मुलुक, अस्ट्रेलिया, जापान, दक्षिण कोरियालगायत देशका अर्थोडोन्टिक सर्जन सम्मेलनमा सहभागी छन् ।

एसोसिसनका अध्यक्ष डा भट्टराईले अर्थोडोन्टिक्सले बाङ्गोटिङ्गो र नमिलेको दाँतको उपचार गर्नाका साथै अनुहारको हाडको समस्याको रोकथाम र उपचार गर्ने बताए । त्यसबारे नयाँ प्रविधिको विकास भइरहेको र नेपालमा पनि चाँडै भित्रिने उनले जानकारी दिए ।

डा भट्टराईले नेपालका करिब ८० प्रतिशत बालबालिकाको दाँत बाँध्नुपर्ने अवस्था रहेको बताउँदै अझै त्यसको उपचार गर्नुपर्छ भन्ने चेतना विकास नभइसकेको बताए। उनले भने, ‘‘बाङ्गो दाँत सिधा गर्ने मात्र नभई बच्चाको हड्डी र वयस्कमा जवडाको समस्या (जव डेफोमिर्टी) को समाधान अर्थोग्नाथिक सर्जरीद्वारा गरिन्छ । पछिल्लो समय दाँतलाई व्यक्तित्वसँग जोडेर हेर्न थालिएको छ । त्यसबाहेक पनि बाङ्गोटिङ्गो दाँत नमिलाउँदा स्वास्थ्य समस्या पनि देखिने भएकाले यसको उपचार गराउनै पर्छ ।’’

वीर अस्पताल दन्त विभागका अर्थोडोन्टिक सर्जन मनिष वज्राचार्यले दाँत किराले खाने र गिजाको समस्या आदिबाट छुट्कारा पाउन तथा रोजगारी, विदेश अध्ययन आदिमा राम्रो आकर्षक दाँतले भूमिका खेल्ने हुँदा पछिल्लो समय अर्थोडोन्टिकको माग बढ्दै गएको धारणा राखे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *