भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै

काठमाडौँ, ७ बैशाख । हिजो देखि सुरु भएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमलाई आज पनि निरन्तरता दिइएको छ । हिजो औषधि खान छुटेका बालबालिकालाई लक्षित गरि आज पनि औषधि खुवाउने कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा अन्तर्गतको पोषण शाखाका अनुसार यसपटक देशभर रहेका छ महिना देखि ५ बर्ष उमेर समूहका २६ लाख २८ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै छ । त्यस्तै १ बर्ष देखि ५ बर्ष उमेर समूहका २२ लाख ९८ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम छ ।

पोषण शाखा प्रमुख राजकुमार पोखरेलले औषधि खुवाउने कार्यक्रमका लागि देशभरका ५५ हजार २४८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको बताए ।

बालबालिकालाई संक्रामक रोगहरुबाट बचाउँन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रतिरोधि क्षमता बढाई बालमृत्युदर घटाउन भिटामिन ए खुवाउने गरिएको छ । यसैसंग जुकाको संक्रमणबाट बचाउँन छ छ महिनामा खुवाउनुपर्ने जुकाको औषधि पनि खुवाइदै छ ।

सन् १९९३ मा ८ जिल्लाबाट सुरु भएको भिटामिन ए कार्यक्रम सन् २००२ देखि देशैभर सञ्चालित छ । भिटामिन ए तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकाहरुलाई हरेक बर्ष दुईपटक बैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ ।

कार्यक्रमको सञ्चालन बाल स्वास्थ्य महाशाखा अन्तर्गतको पोषण शाखाले गर्ने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *