चिकित्सकलाई १-० गोल अन्तरले हराउँदै उपाधी प्रत्यारोपित टोलीको कब्जामा

काठमाडौँ, १ बैशाख। चिकित्सक तथा सामाजिक अगुवाहरुको टोलीलाई १ – ० गोल अन्तरले हराउँदै यसपटक पनि अंग प्रत्यारोपितहरुको टोलीले प्रत्यारोपण कप फुटवल प्रतियोगिताको उपाधी जितेको छ ।

लगनखेलस्थित नेपाली सेनाको खेलमैदानमा आज भएको मैत्री पूर्ण फुटवल प्रतियोगितामा खेलको ८९ औ मिनेटसम्म दुवै टोली गोल गर्न सकेका थिएनन् । तर अन्तिम मिनेटमा प्रत्यारोपित टोली सानदाररुपमा एक गोल गर्न सफल रहयो ।

अघिल्ला बर्ष जस्तै यसपटक पनि नयाँ वर्षको अवसर पारी मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठान ललितपुरले अंग प्रत्यारोपण गरेका व्यक्ति र सर्वसाधारणबीच खुल्ला तथा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता राखेको थियो । दशरथ रंगशाला मर्मतका कारण बन्द भएपछि प्रतियोगिता लगनखेलमा राखिएको थियो ।

आठौँ प्रतियोगिता अन्तरगत आजै फुटवल बाहेक प्रत्यारोपित बीच दौड तथा व्याडमिन्टन कार्यक्रम समेत राखिएको थियो ।

प्रतियोगिता अन्तर्गत अंग प्रत्यारोपित पुरुष तर्फ १०० मिटर दौडमा विष्णुलाल श्रेष्ठ प्रथम, हरिबहादुर तामाङ दोस्रो र रुल बहादुर आले तेस्रो भएका छन् । त्यस्तै पुरुष २०० मिटर दौड तर्फ विष्णुलाल श्रेष्ठ प्रथम, प्रेम रत्न मानन्धर दोस्रो र स्वजन मानन्धर तेस्रो भएका छन् । त्यसैगरी ४०० मिटर दौड तर्फ प्रेमरत्न मानन्धर प्रथम , हरिबहादुर तामाङ दोस्रो र रुलबहादुर आले तेस्रो भएका थिए ।

महिला १०० मिटर तर्फको उपाधी गीता श्रेष्ठले हात पारेकी छन् । दोस्रो तुलसा भट्टराई र तेस्रो सानुशोभा शाक्य भएका छन् । त्यस्तै २०० मिटर दौड तर्फ पनि गीता श्रेष्ठ प्रथम, तुलषा भट्टराई दोश्रो र सानुशोभाशाक्य तेश्रो भएका थिए ।

आजै भएको अर्को प्रतियोगिता ब्याडमिन्टन तर्फ पुरुष भेटरान (४५ बर्ष भन्दामाथि) को समुहमा प्रेम रत्न मानन्धर प्रथम, बिष्णु लाल श्रेष्ठ दोश्रो र राजेश्वर कायस्थ तेश्रो भएका थिए । त्यसै गरी पुरुष ४५ बर्षभन्दा मुनिको उमेर समुहमा हरिबहादुर तामाङ्ग प्रथम, राजकुमार लिम्बु दोश्रो तथा रुद्र बहादुर बि.क. तेश्रो भएका छन् । महिला ब्याडमिन्टनतर्फ लिला गुरुङ्ग प्रथम, लक्ष्मी महर्जन दोश्रो तथा गीता श्रेष्ठ तेश्रो भएका थिए ।

अंग प्रत्यारोपितहरु पनि स्वस्थव्यक्ति सरह सक्षम र उत्पादनशील जीवन व्यतित गर्न योग्य छन् भन्ने सन्देश दिन र अंगदाताहरुको मनोबल उच्च राख्न यस किसिमको प्रतियोगिता डा राखिएको आयोजक संस्था केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । उनले उनले आगामी २०७५ बैशाख १ गते दक्षिण एशियाली प्रत्यारोपण खेलकुदको आयोजना गरिने र यस पटकको बिजयीमध्येबाट २ जना प्रत्यारोपितहरुलाई यसै बर्षको जुुन महिनामा स्पेनको मालागामा आयोजना हुने विश्व प्रत्यारोपण खेलकुदमा सहभागी गराईने जानकारी दिए ।

प्रतियोगितामा अतिथि बन्न पुगेका युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपालीले प्रत्यारोपितहरुलाई शिपमुलक तालिम दिई उत्पादनशील नागरिक बनाउन मद्धत गर्ने घोषणा गरे । उनले प्रत्यारोपण खेलकुदको प्रभावकारिता बृद्धि गर्न सक्दो सहयोग गर्ने आशास्वन पनि दिए ।

प्रतियोगिताका संयोजक ओलम्पीयन ध्रुबबिक्रम मल्लले सबै सहभागहिरुलाई धन्यवाद दिए । प्रतियोगितामा सुप्रसिद्ध गायिका आनी छोईङ्ग डोल्मा, सभासद प्रेम सुवाललगायत वरिष्ठ चिकित्सक, पत्रकार, राजनीतिज्ञ तथा समाजसेविहरुको सहभागिता रहेको थियो ।

सोही समारोहमा मृगौला प्रत्यारोपित खेमराज निरौलाद्धारा लिखित पुस्तक“जीवनको खोजीमा” पुस्तकको विमोचन समेत भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *