सुरक्षित गर्भपतनसम्बन्धी अभिमुखीकरण

भक्तपुर, ३१ चैत । नेपालमा मातृमृत्युदरका तेस्रो प्रमुख कारण रहेको असुरक्षित गर्भपतनलाई कम गर्न महिलाको प्रजनन् अधिकारको सुनिश्चितता हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

मातृमृत्यु हुनुमा सात प्रतिशत हिस्सा असुरक्षित गर्भपतन रहेको छ भने ३८ प्रतिशत महिलालाई मात्र सुरक्षित ढङ्गबाट गर्भपतन गर्न सकिने बारेमा जानकारी रहेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

हेल्थ एस्सेस राइटस् (आइपास नेपाल)र सञ्चारिका समूहको आयोजनामा आज यहाँँ आयोजित सुरक्षित गर्भपतन सेवासम्बन्धी पत्रकार अभिमुखीकरण गोष्ठीका सहभागी वक्ताहरुले कानुनले १८ हप्तासम्मको गर्भपतन निःशल्करुपमा मान्यताप्राप्त स्वास्थ्य केन्द्र र चिकित्सकद्वारा गराउन सकिने व्यवस्था रहेपनि त्यसबारेमा जानकारी नहुँदा अझै पनि धेरै महिलाले असुरक्षित गर्भपतन गराउन बाध्य रहेकाले यसबारेमा सञ्चार क्षेत्रले सचेतना अभिवृद्धिमा पहल गर्नुपर्नेमा जोड दिए ।

आइपास नेपालका राष्ट्रिय निर्देशक डा शिवेशचन्द्र रेग्मीले नेपालमा असुरक्षित गर्भपतनको समस्या उच्च रहेकाले यसलाई न्यूनीकरण गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले महिलाको विषयलाई मिडियामार्फत जनचेतना अभिवृद्धि र राज्यलाई उपयक्त नीति निर्माण र कार्यक्रम तर्जुमा गर्न समूहले निरन्तर पहल गरिरहेको बताइन्।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष शिव गाउँले, आइपास नेपालका राष्ट्रिय कार्यक्रम प्रवन्धक दीर्घराज श्रेष्ठ र कार्यक्रम सल्लाहकार माधवी ब्रजाचार्य तथा सञ्चारिका समूहकी कोषाध्यक्ष यशोधा अधिकारीले नेपालमा असुरक्षित गर्भपतनको अवस्था, मिडियाले उठाउनुपर्ने विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा महिलाका विषयमा कलम चलाउने २५ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *