मुटुरोगबाट जोगिन मुटुरोग विशेषज्ञका २५ सल्लाह

डा. प्रकाशराज रेग्मी

१. आनन्दपूर्वक जिउन वुद्धिविवेक, सम्पत्ति र स्वास्थ्य मान्छेका लागि नभै नहुने भए पनि स्वास्थ्य पहिलो प्राथमिकतामा रहनु पर्छ ।

२. सानातिना रोगव्याधी तथा समस्याहरुसंग जुध्न सक्ने स्वास्थ्य स्थिति बनाउनु पर्छ । अर्थात मान्छेको रोगप्रतिरोधात्मक क्षमता दह्रो हुनुपर्छ ।

३. धुमपान स्वास्थ्यको लागि अत्यन्तै हानीकारक छ । तसर्थ धुमपान गर्नेले विस्तारै विस्तारै घटाएर भए पनि यो छोड्नु पर्छ ।

४. दिनमा कम्तिमा ४०० ग्रामका दरले हरियो तरकारी र फलफुलमा भएको फाईवर सेवन गर्ने मान्छेमा मुटुरोग लाग्ने सम्भावना चालीस प्रतिशत कम हुन्छ ।

५. शुद्ध घ्यु, तेल खानु मुटुका लागि त्यति हानिकारक हुन्न । तर पटक पटक पकाएको घ्यु, तेल खानु हुन्न । भात, रोटीमा रहने कार्वाेहाइडे«ड मुटुका लागि शुद्ध घ्यु, तेल भन्दा बढि हानिकारक हुन्छ ।

६. मैदा, आलु, चामल तथा चिनीको प्रयोग घटाउने र सागसव्जी, फलफुल तथा गेडागुडीको मात्रा बढाएर भोजन गर्नुपर्छ । भात रोटी सानो रिकापीमा र सागसब्जी ठूलो थाल भरी खानुपर्छ ।

७. जंक फुड पटक्कै खानुहुन्न ।

८. डार्क चक्लेट मुटुका लागि फाइदाजनक हुन्छ ।

९. शुद्ध कफी दुई तीन कप मुटुका लागि राम्रो हुन्छ । तर मुटुको धड्कन बढि भएकाका लागि कफी राम्रो हुन्न ।

१०. मांसहारीका लागि खसी, कुखुराको मासु भन्दा हप्तामा दु्ईपटक माछा खानु धेरै राम्रो हुन्छ ।

११. शुद्ध आलसको तेल फाइदाजनक हुन्छ । दिनको एक चम्चा आलस चबाउनु मुटुका लागि धेरै फाइदाजनक हुन्छ ।

१२. शारीरिक व्यायाम दैनिक आधा घण्टा गरे पुग्छ । आवश्यकता भन्दा ज्यादा गरिने शारीरिक व्यायाम मुटुका लागि पनि हानिकारक हुन सक्छ ।

१३. ६० वर्ष भन्दा बढि उमेर भएकाहरुमा १४०/९० सम्म रक्तचाप भए ठिकै हुन्छ । यो उमेरमा अलिकति बढि रक्तचाप भएमा अल्जाइमर जस्ता दिमागको रोग लाग्ने सम्भावना कम हुन्छ ।

१४. वयस्कहरुमा पनि १४०/९० सम्मको रक्तचाप सामान्य हो । तर किड्नी र मधुमेहको रोग भएकाहरुमा भने १३०÷८० भन्दा बढि रक्तचाप हानीकारक हुनसक्छ ।

१५. ब्लडप्रेसर बढेर औषधी सेवन गर्न थालेकाले औषधी छोड्नै हुन्न भन्ने मान्यतामा परिवर्तन आएको छ । रक्तचाप बढ्नुका कारण हटाउन घटाउन सकेमा नियमित खाईरहेको औषधी चिकित्सकको सल्लाहमा छोड्न पनि सकिन्छ । जस्तै मध्यपान धुमपानका कारणले प्रेसर बढेको भए त्यस्ता पदार्थको सेवन छाडेपछि प्रेसरको समस्या पनि स्वत घटेर जान्छ ।

१६. त्यस्तै मधुमेहका रोगीले पनि चिकित्सकको सल्लाहमा कतिपय अवस्थामा औषधी सेवन छाड्न सक्ने हुनसक्छ ।

१७. कोलेस्टेरोलको परीक्षण खाना खाएपछि गर्नुहुन्न भन्ने मान्यतामा परिवर्तन आएको छ । खाना खाएर पनि परीक्षण गर्न सकिन्छ । खानाखानु र नखानुका विचको फरक दुई प्रतिशत मात्र हुन्छ ।

१८. रगतमा हुने कोलेस्टेरोलको ८०% शरिर भित्रैबाट बन्छ, २०% मात्र हामी खाएको खानाको कोलेस्टेरोलबाट बन्छ । यसकारण अण्डा खाएर कोलेस्टेरोल बढ्ला भनेर डराउनु पर्दैन । दैनिक एउटा उसिनेको पूरा अण्डा मुटु रोगीले खाए हुन्छ ।

१९. मधुमेहको रोगीले कोलेष्टेरोल जति छ सो को आधा घटाउनु पर्छ । यति नै हुनुपर्छ भन्ने होइन ।

२०. बिहान आधा लिटर पानी पिउनु पर्छ । त्यस पछि पिसाबको रङ सङ्लो अवस्था कायम रहने गरी पानी पिउनु पर्छ । एकै पटक धेरै पानी पिउनु वा ज्यादै धेरै पानी पिउनु हुन्न । मुटुको रोगी र किड्नीका रोगीले पानी धेरै पिउन हुन्न ।

२१. स्वस्थ्य व्यक्तिले पनि वर्षमा कम्तिमा एक पटक आफ्नो स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

२२. सकारात्मक तथा नकारात्मक दुवै उत्तेजना मुटुका लागि हानिकारक हुन्छ । तसर्थ उत्तेजित हुन बाट जोगिनु पर्छ ।

२३. आवेग र उत्तेजनाबाट जोगिन योग, ध्यान तथा दान गर्नुपर्छ ।

२४. दिनमा कम्तिमा पाँच मिनेट हाँस्नु आवश्यक छ । तर अत्यन्तै उत्तेजना पैदा हुने कृतिम हाँसोले पनि मुटुलाई नकारात्मक प्रभाव पर्छ ।

२५. दान दिने वानी राम्रो हो । यसले मानसिक तनाव घटाउँदछ र हृदयघातबाट बचाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *