एम्वुलेन्स खरीद गर्न एक व्यक्तिले दिए १० लाख रुपैयाँ

सिन्धुली, २७ चैत । एम्वुलेन्स खरीद गर्न एक व्यक्तिले दश लाख रुपैयाँ दिएका छन् । रेडक्रस मार्फत खरीद हुने एम्बुलेन्सका लागि सिन्धुलीको स्टल बजारमा सङ्गम होटल सञ्चालन गर्दै आएका बेलबहादुर बसेलले आमाबुबाका नाममा सो रकम दिएका हुन् ।

सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सभाको ४६ औं महाधिवेशनको उद्घाटनको अवसरमा बसेलले सभामुख ओनसरी घर्तीमार्फत जिल्ला सभापति अशोक श्रेष्ठलाई चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरणपछि सभामुख घर्तीले भनिन् “नेपालमा केही त्यस्ता व्यक्ति छन् जोसँग अर्ब रुपियाँ भए पनि उनीहरुसँग सहयोगी मन छैन । बेलबहादुर बसेलले सामाजिक हितका लागि गरेको यो सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उच्च मूल्याङ्कन गर्दछु ।”मानवीय हितका लागि सहयोग गर्नु सौभाग्यको विषय भएको उनले बताइन ।

रकम हस्तान्तरणमा दाता बसेलले माता छलिमाया र पिता हर्कबहादुरका नाममा आफूले सहयोग गरेको बताए । उनले आफ्ना पिता हर्कबहादुर डाँडीगुराँसेमा एम्बुलेन्सको अभावमा समयमा नै उपचार नपाएपछि २०५६ साल फागुन ५ गते मृत्यु भएको प्रसंग जोडदै भने, “एक गरिब परिवारमा हुर्केको र हलो जोतेर आफूलाई हुर्काउनका लागि सहयोग गर्ने पिता र आफू भोकै बसेर आफूलाई आहारा खुवाउने माताको नाममा एम्बुलेन्स किन्न सहयोग गर्न पाउँदा आज उहाँको आत्माले शान्ति पाएको महसुस गरेको छु” । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *