भत्ता बढाउन माग गर्दै डीन कार्यालय पुगे इन्टर्न डाक्टर

काठमाडौँ, २५ चैत । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त पाँचवटा निजी मेडिकल कलेजमा अध्ययनरत इन्टर्र डाक्टरहरुले निर्वाह भत्ता बढाउनुपर्ने माग गरेका छन् ।  उनीहरुले आज त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डीन प्राडा जगदीशप्रसाद अग्रवाललाई छुट्टा छुट्टै ज्ञापन पत्र बुझाँउदै सो माग गरेका हुन् ।

ज्ञापन पत्र बुझाउनेहरुमा किष्ट मेडिकल कलेज ग्वार्को, चितवन मेडिकल कलेज भरतपुर, जानकी मेडिकल कलेज जनकपुर, युनिर्भल मेडिकल कलेज भैरहवा र गण्डकी मेडिकल कलेज पोखराका इन्टर्न रहेका छन् । निजी नै भएपनि नेपाली सैनिकको मेडिकल कलेज र नेशनल मेडिकल कलेजका इन्टर्नहरु भने आएका छैनन् ।

अग्रवाललाई आज बुझाएको ज्ञापन पत्रमा इन्टर्नहरुले आइओएम सरह भत्ता हुनुपर्ने माग राखेका छन् । आइओएमले इन्टर्नहरुलाई प्रति महिना १५ हजारको दरले भत्ता दिने गरेको छ । अन्य कलेजहरुले साढे आठ हजारबाट १० हजारसम्म मात्रे भत्ता दिने गरेको छ ।

इन्टर्नहरुका अनुसार जानकी मेडिकल कलेजले ८ हजार ५ सय, किष्टले ९ हजार ६ सय, युनिभर्सल मेडिकल कलेजले ९ हजार ५ सय, चितवन मेडिकल कलेजले १० हजार र गण्डकी मेडिकल कलेजले ९ हजार ६ सय मात्रै भत्ता दिने गरको छ ।

किष्ट मेडिकल कलेजका इन्टर्न डा अरुण उप्रेतीले कलेज प्रशासनलाई पटक पटक ध्यानाकर्षण गराउँदा नमाने पछि आफूहरु बाध्य भएर डीन कार्यालयमा आएको बताए । उनले भत्ता कम र काम बढी गराउने गरेको दुखेसो गरे । ‘हाम्रा कुनै कलेजले त हप्तामै १२० घण्टा सम्म ड्यिुटी गराउँछ । यसमा पनि मापदण्ड अनुसार हुनुपर्छ भन्ने हाम्रो माग हो,’ डा उप्रेतीले भने ।

आइओएमका डीन डा. अग्रवालले  आफ्नो ध्यानाकर्षण भएको भन्दै कलेजहरुसंग परामर्स गरि समस्या हल गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *