बेनी अस्पतालको मुहार फेरियो

(सन्तोष गौतम)म्याग्दी), २४ चैत । हर्नियाको समस्या भएका रघुगङ्गा गाउँपालिका–३ पिप्लेका क्षेत्रबहादुर खत्रीले बेनीस्थित जिल्ला अस्पतालमा यसै हप्ता शल्यक्रिया गरे । ‘बि’ नेगेटिभ रगत र मुटुको समस्याले थलिएकी धौलागिरी–२ लुलाङकी ५१ वर्षीया मनकुमारी विकले बेनीमै शल्यक्रिया गरेर स्वास्थ्य लाभ गरिन् ।

पोखराको गण्डकी अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रिया गर्न नसकिने बताएपछि निराश हुँदै घर फर्कने क्रममा विकलाई आफन्तले अन्तिम अवस्थामा बेनी अस्पताल पु¥याएका थिए । चिकित्सकका अनुसार ‘बी’ नेगेटिभ रगतको कमी र उनको मुटुको चाल प्रतिमिनेट ७५ भन्दा माथि हुनुपर्नेमा ४६ मा झरेको थियो ।

दाहिने खुट्टा र कम्मरलाई जोड्ने ठाउँमा भएको सङ्क्रमणका कारण एउटा खुट्टा चलाउनै नसक्ने गरी कुँजिएपछि गत माघमा बेनी अस्पताल ल्याइएकी लुलाङकै पानु विक एक वर्षदेखिको स्वास्थ्य समस्याबाट मुक्त भई आफँै हिँडेर घर फर्किइन् ।

क्षयरोग र कुपोषणको सिकार भएकी विकको शल्यक्रियाका साथै दुई महिनासम्म चिकित्सकको निगरानीमा उपचार गरिएको थियो । अस्पतालमा ल्याउँदा २३ किलोग्राम तौल भएकी उनी फर्कंदा ४३ किलोकी भएकी थिइन् ।

पिप्लेका खत्री, लुलाङका मनकुमारी र पानुजस्ता सयौँ बिरामीले जिल्लाकै सरकारी अस्पतालमा सर्भसुलभ र सहज रुपमा शल्यक्रियासहितको सुविधा पाएपछि राहत महसुस गरेका छन् ।

अस्पतालले जटिल प्रसूति, हाडजोर्नी, हाइड्रोशील, हर्निया, पत्थरी, एपेन्डिसाइट्स, पाठेघर खस्ने, छालाको प्रत्यारोपण गर्नुपर्नेलगायत समस्या भएका बिरामीलाई शल्यक्रियासहितको सेवा प्रदान गरेको छ । बेनीमा शल्यक्रिया सेवा पाएपछि धेरै रकम र समय खर्च गरेर उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने समस्यामा कमी आएको छ ।

गरिब तथा विपन्न सर्वसाधारणको उपचार सेवामा पहुँच बढ्नुका साथै समय र आर्थिकको बचत भएको हर्नियाको शल्यक्रिया गर्नुभएका खत्रीले बताउनुभयो । “काठमाडौँ, पोखरा, चितवन जाँदा धेरै खर्च र समय लाग्दथ्यो”, खत्रीले भन्नुभयो – “बेनीमै सुविधा पाएपछि सजिलो भयो । राहत मिलेको छ ।”

अस्पतालमा हालसम्म ८४ वटा जटिल र साउनदेखि यता १४९ वटा मध्यम किसिमका शल्यक्रिया भएको छ । विसं २०७१ देखि शल्यक्रियामार्फत जटिल किसिमको प्रसूति गराउने सेवा सुरु गरेको अस्पतालले गत वर्षदेखि अन्य शल्यक्रियासमेत सुरु गरेको थियो ।

सुविधा विस्तारसँगै चिकित्सक, कर्मचारीको सक्रियता, व्यवस्थापन समितिको समन्वयात्मक भूमिका र समुदायको सहयोगबाट जिल्ला अस्पतालको सेवा प्रवाहमा सुधार आएको हो । पछिल्लो समय बेनी अस्पतालप्रति सर्वसाधारणको विश्वास बढेको अस्पतालमा बुबालाई उपचार गराउन आएका अन्नपूर्ण–८ राम्चेका भक्तबहादुर पुर्जाले बताए।
समयमै र सही उपचार नपाएर अकालमा ज्यान गुमाउन बाध्य यस जिल्लाका बासिन्दाको स्वास्थ्य स्थिति सुधार्न उनीहरु लागिपरेका छन् । देशका कतिपय सरकारी अस्पतालले दरबन्दीअनुसारको चिकित्सक अभावको समस्या झेलिरहेका बेला बेनी अस्पतालमा १३ र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुईजना चिकित्सक कार्यरत छन् ।

जनशक्ति पर्याप्त भएपछि विस्तार गरेको सेवालाई निरन्तरता र दिगो बनाउन अस्पतालमा पूर्वाधार र उपकरण थप गर्न लागिएको अस्पतालका प्रमुख वरिष्ठ चिकित्सक रोशन न्यौपानेले बताउनुभयो । “जनशक्ति भएपछि सेवा विस्तार गरेका हौँ”, न्यौपानेले भने – “यसलाई निरन्तरता दिन पूर्वाधार निर्माण र उपकरण थप गर्न पहल गरेका छौँ ।”

विसं २०७२ असोजमा १५ बाट बढाएर ५० श्ययाको बनाइएको बेनी अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकसहित ६९ जना विभिन्न तहका प्राविधिक जनशक्तिको दरबन्दी छ । यसअघि दुईजना मात्रै चिकित्सकको दरबन्दी रहेको अस्पतालमा विशेषज्ञबाहेक अरु सबै दरबन्दीमा पदपूर्ति भएको छ । जनशक्ति, उपकरण र पूर्वाधारसँगै जिल्ला अस्पतालको सेवा विशिष्टीकरणतर्फ अघि बढेको हो ।

अस्थायी संरचना निर्माणका लागि स्वास्थ्य मन्त्रालयमा रु ६० लाख बजेट प्रस्ताव गरिएको छ । “स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध नगराए पनि अस्पतालको स्रोतबाट वैकल्पिक पूर्वाधार तयार पारेर अहिले प्रवाह भइरहेको सेवा, सुविधामा कटौती हुन नदिने प्रयास गरेका छौँ” –अध्यक्ष रेग्मीले भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *