विदेशी दम्पतीले बनाइदिए स्वास्थ्य चौकी

गोरखा, २४ चैत । ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन’ समाजमा प्रायः यस्ता भनाइ सुन्ने गरिन्छ । तर, स्विट्जरल्यान्डका एक दम्पतीले मन र धन दुवै प्रयोग गरी उत्तरी गोरखा, धार्चे गाउँपालिका लापु गाउँमा स्वास्थ्य चौकी र विद्यालय भवन पुनःनिर्माण गरिदिएका छन् ।

भूकम्पले भत्काएको स्वास्थ्य चौकी र विद्यालय पुनःनिर्माणमा स्विट्जरल्यान्डका नागरिक डा थेरी र भोरोनिक लङ्गेन्बेगर दम्पतीले रु ५७ लाख लगानी गरेका हुन् । स्वास्थ्य चौकीमा रु ३५ लाख र कालरात्रि माध्यमिक विद्यालयको भवन पुनःनिर्माणमा रु २२ लाख लगानी भएको छ ।

आफूहरु धनी भएर सहयोग गरेको नभई मेला, उत्सवहरुमा पश्मिना बेचेर कमाएको पैसाले स्वास्थ्य चौकी र विद्यालय पुनःनिर्माण गरेको डा थेरीले बताए । थेरीका अनुसार केही वर्ष पहिले लापुमा निर्माण गरिएको स्वास्थ्य चौकी गोरखा भूकम्पले क्षति पु¥याएको थियो ।

स्वास्थ्य चौकी बनेपछि दुर्गमका बासिन्दा घरदैलोमै स्वास्थ्य सेवा पाइने भएपछि खुसी छन् । यस्तै विद्यालय भवन बनेपछि टहरोमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

विदेशीलाई गाउँसम्म पु¥याएर समन्वयको भूमिका निर्वाह गरेका लापु गाउँका स्थानीयवासी गणेश गुरुङका अनुसार डा थेरी नेतृत्वको टोली पाँच वर्ष पहिले पदयात्राका क्रममाः लापु गाउँ आइपुगेका थिए ।

त्यसबेला झाडापखालाले थला परेकी माहिली गुरुङले समयमै उपचार नपाएर मृत्युवरण गर्नुपरेको घटना देखेपछि डा थेरीको समूहले लापु गाउँमा स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालनमा सहयोग गर्दै आएको थियो ।

सो स्वास्थ्य चौकी भूकम्पका बेला भत्केपछि डा थेरी दम्पतीले सोही ठाउँमा नयाँ स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिदिएका हुन् ।
माहिलीका भाइसमेत रहेका गुरुङले भने – “नेपालको दुर्गम गाउँमा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने सोचले डा थेरीहरुले स्विट्जरल्यान्डमा माहिली एसोसिएसन स्थापना गरेछन् । सोही संस्थाले गोरखा भूकम्पका घाइतेको उपचारमा समेत सहयोग ग¥यो ।”

एसोसिएसनले लापु गाउँमा स्वच्छ खानेपानी, घरघरै शौचालय निर्माणमा समेत सहयोग गर्दै आएको छ । यस्तै डा थेरी दम्पतीले स्वास्थ्य चौकीमा इन्टरनेट उपकरणसहितको एक थान ल्यापटप र विद्यालयमा पाँच थान ल्यापटप सहयोग गरेका छन् ।

लापु गाउँमा सडक सुविधा पुगेको छैन । निजी घर तथा सार्वजनिक महत्वका भवन पुनःनिर्माण गर्न निर्माण सामग्री ढुवानीमा खच्चडकै भर पर्नुपर्ने बाध्यता छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *