नियमित योगले आत्महत्या न्यूनीकरण हुनसक्ने

(कविता उपाध्याय)रोल्पा, २४ चैत । स्थानीय विकास अधिकारी सुशील बैद्यले नियमित योग र ब्यायामले आत्महत्या न्यूनीकरण हुनसक्ने बताएका छन् ।

समाजमा विकासको क्रमसँगै मानिसमा मानसिक समस्या बढ्दै जाने वा मान्छे डिप्रेसनमा गएर आत्महत्या गर्ने क्रम बढ्दो छ । त्यसैले यसको न्यूनीकरणका लागि नियमित योग तथा प्राणायाम गर्नाले मानसिक तथा शारीरिक रुपमा स्वस्थ हुन सकिने विज्ञानले समेत प्रमाणित गरेको उनले बताए । उनका अनुसार नियमित योग, ब्यायाम र प्राणायाम गर्ने ब्यक्तिलाई आत्महत्याको सोच आउँदैन ।

पतञ्जली योग समिति, रोल्पाको आयोजनामा बुधबार रोल्पाको लिबाङमा सम्पन्न भएको रामनवमी पर्व–२०७३ का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै बैद्यले यस्तो बताएक हुन् ।

उनका अनुसार यीनै कुराहरुलाई मध्यनजर गर्दै पछिल्ला दिनमा चिकित्सकहरुले पनि बिरामीलाई औषधी सेवनका साथै नियमित ब्यायाम तथा प्राणायामको सिफारिस गर्ने गरेका छन् ।

बैद्यका अनुसार आफूखुशी प्रशिक्षक विना नै गरेको योग साधनाले नकारात्मक असर पर्नसक्ने भएको हुँदा प्रशिक्षक तथा गुरुसँगै समूहमा योग गर्दा सहज हुने उनको भनाइ छ । हामीभित्रका शारीरिक तथा मानसिक विकृतिहरुलाई योगको माध्यमबाट निर्मूल गर्दै विजय हासिल गर्न सकिने उनले बताए ।

यस्तै, कार्यक्रमका सभाध्यक्ष दामु मर्सिफुलले रामनवमीका दिनमा भगवान रामको जन्म भएको र असत्यमाथि सत्यले विजय प्राप्त गरेको दिन भएकाले रामनवमीको महत्व रहीआएको बताए ।

मर्सिफुलले स्वामी रामदेवले रामनवमीकै दिनदेखि आफूलाई पूर्णरुपमा योगमा समाहित गरेकोले पतञ्जली योग समिति, रोल्पाले यो दिनलाई विशेष पर्वका रुपमा मनाएको जानकारी दिए रोल्पामा पहिलोपटक रामनवमीको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

पतञ्जली योग समिति, रोल्पाका महिला प्रभारी रचना श्रेष्ठको १८/१९ वर्षको उमेरदेखि पाठेघरमा समस्या थियो जसका कारण उनको मैनावारी नियमित थिएन भने नियमितरुपमा तल्लो पेट दुःख्ने समस्याले उनी प्रताडित थिइन् ।

त्यसैले आजभन्दा १५ वर्ष पहिलेदेखि उनले नियमित औषधी सेवन गर्दै आएकी थिइन् । तर करिब २ वर्ष पहिलेदेखि नियमित योग अभ्यास गर्न थालेसँगै उनको समस्या समाधान हुँदै गएको छ । गतः फागुन महिनामा काठमाडौँ पुगी जाँच गर्ने क्रममा उनको रोग निर्मुल भएको भन्दै डाक्टरले औषधि नदिएपछि उनीमा थप हौसला बढेको छ । हाल उनी निकै उत्साहित बनेकी छन् । हाल उनीमा पहिलेदेखि बढ्दै आएको रक्तचाप पनि सामान्य अवस्थामा रहेको श्रेष्ठले जानकारी दिइन्।

यस्तै, रोल्पा नगरपालिका–२ की मीना आचार्यका अनुसार ‘उनमा नियमित ढाड दुःख्ने, जतिबेला पनि तनाव हुने, आलस्यता बढ्दै जाने, मन ग¥हुङ्गो हुने समस्या थियो । तर केही महिनादेखि उहाँले पनि योगाभ्यास गर्न थालेसँगै उनमा देखिएको समस्या न्यूनीकरण हुँदै गएको छ । उनका अनुसार हाल उहाँ फूर्तिलो बन्नुभएको छ । ढाड दुख्ने समस्या पनि घट्दै गएको छ भने मानसिकरुपमा उहाँमा ऊर्जा बढिरहेको छ ।’

त्यसैगरी, लिबाङ, रोल्पाकी रम्भा आचार्यको करिब दुई वर्ष पहिलेदेखि टाउको दुख्ने, र नियमित रुघा लाग्ने समस्या देखिएको थियो । उनले पनि योगाभ्यास गर्न थालेपछि केही सहजताको अनुभूति हुन थालेको बताइन्।

पछिल्लो दिनमा रोल्पामा योगाभ्यासतर्फ महिला तथा पुरुष दुवै आकर्षित बन्दै गएका छन् । तर यसका लागि सीमित स्रोत र साधनका कारण सहजरुपमा योग कक्षाहरु सञ्चालन गर्न नसकिएको पतञ्जली योग समितिका अध्यक्ष मर्सिफुलले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *