कान्ति बाल अस्पतालमा विस्तारित सेवा प्रभावकारी

काठमाडौँ, २० चैत । कान्ति बाल अस्पतालमा विस्तारित अस्पताल सेवा (इएचएस) अर्थात् पेइङ सेवाअन्तर्गत दिउँसो ३ बजेदेखि ५ बजेसम्म सुरु भएको विशेषज्ञ चिकित्सकसहितको ओपिडी सेवा प्रभावकारी बन्दै गएको छ ।

गत बुधबारदेखि सुरु भएको दिउँसो ३ बजेबाट साँझ ५ बजेसम्म चल्ने उक्त सेवामा हालसम्म तीन दिनमा करिब ५० भन्दा बढी बालबालिकाको उपचार भएको अस्पतालका निर्देशक डा अजित रायमाझीले जानकारी दिए।

देशभरको एक मात्र केन्द्रीय बाल अस्पतालका रुपमा रहेको कान्तिमा देशभरबाट उपचारका लागि आउने दैनिक बहिरङ्ग सेवामा ३०० बालबालिका उपचारका लागि आउने गर्छन् ।

बिरामीको अत्यधिक भीडका कारण निजी क्लिनिकमा महँगो शुल्कमा उपचार गराउनुपर्ने भएपछि अस्पतालमै रु ४५० शुल्क लाग्ने गरी सेवा विस्तार गरिएको हो ।

निर्देशक रायमाझीले प्रयोगशाला परीक्षणका लागि ल्याब तथा शल्यक्रिया शुल्क अरु बेलाको भन्दा बढी भए पनि बाहिरका निजी अस्पतालभन्दा सस्तो हुने बताए । यो सेवा सुरु भएपछि टाढाबाट बिरामी बच्चा लिएर आएका अभिभावक पालो नपाएर अन्यत्र भौतारिनुपर्ने बाध्यताको अन्त्य भएको छ । बिरामीले वरिष्ठ विशेषज्ञ सेवा पाउछन् । निजीमा जस्तै यही अतिरिक्त समयको पारिश्रमिक पाएपछि चिकित्सकलाई पनि सजिलो भएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा कृष्ण पौडेलले बताए ।

अहिले परीक्षणकै क्रममा रहेकाले सेवालाई थप प्रभावकारी र सरल बनाउँदै लैजाने अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विस्तारित सेवा सुरु गरेका संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कामका आधारमा ५० प्रतिशतसम्म भत्ता दिने व्यवस्थासमेत गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *