अफ्रिकामा एघार करोड ६० लाखलाई पोलियो खोप

संयुक्त राष्ट्रसङ्घ, १२ चैत । पश्चिम तथा मध्यअफ्रिकाका १३ देशका ११ करोड ६० लाखभन्दा बढी बालबालिकालाई पोलियो खोप दिइने भएको छ ।

उनीहरुलाई खोप दिनका लागि एक लाख ९० हजार स्वास्थ्यकर्मी खटाइने संयुक्त राष्ट्रका सहायक प्रवक्ता फर्हान हकले शुक्रबार जानकारी दिए ।

अफ्रिकी देश बेनिन, क्यामरुन, गणतन्त्र मध्यअफ्रिका, चाड, कोट डी आइभोरिक, लोकतान्त्रीक गणतन्त्रात्मक कङ्गो, गिनी, लाइबेरिया, माली, मौरिटेनीआ, नाइजर, नाइजेरिआ र सेरालिओन गरी १३ देशका पाँच वर्ष मुनिका बालबालिकालाई पोखियो खोप दिन लागिएको हो ।

“हरेक बालबालिकालाई पोलियो रोग विरुद्धको खोप दिने यो सबैभन्दा ठुलो संयुक्त अभियान हो,” हकले सञ्चारकर्मीसँग भने ।

उत्तरपूर्बी नाइजेरियामा गत वर्ष स्वास्थ्यमा पहुँच नपुगेकाले पोलियो रोग लागेर चार बालबालिकामा अपाङ भएका थिए । सो क्षेत्र पोलियोबाट बढी प्रभावित क्षेत्र मानिन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ) र राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै १३ मुलुकमा पाँच वर्ष मुनिका बालबालिकालाई प्रतिरोधात्मक क्षमता वृद्धि गर्न एकैसाथ पोलियो खोप दिइने जनाएका छन् ।

गत २० वर्ष पहिले प्रत्येक देशमा हरेक वर्ष पोलियो रोगका कारण ७५ हजार बालबालिकालाई पक्षघात हुनेगरेको डब्लुएचओका अफ्रिका क्षेत्रीय निर्देशक मतसिदिस मोइतीले जानकारी दिए । तर अहिले धेरै सुधारको अवस्था आएकोमा उनले ती देशका प्रतिवद्ध सरकार, समुदाय, साझेदार, स्वास्थ्यकर्मी, स्वास्थ्यसेवीलगायत सरोकारवाला सबै धन्यबादको पात्र भएको बताए ।

उनले १३ देशका सबै गाउँ सहरका सबै घरघरमा पुगेर एक लाख ९० हजार स्वास्थ्यकर्मीले पोलियो खोप दिने जानकारी दिए । खोप अभियान यही मार्च २८ तारिखदेखि सुरु हुने भएको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *