पुस्तौँदेखि ‘खुला’ कुलोको पानी पिउन बाध्य
डोल्पा, १२ चैत । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका बासिन्दा पुस्तौँदेखि खुला कुलोको पानी पिउन बाध्य छन् ।
स्वच्छ खानेपानीका अभावमा परापूर्वकालमा स्थानीयवासीले सिँचाइ गर्नका लागि खनिएको कुलाबाट ल्याइएको दूषित पानी पिइरहेका छन् । अहिले पनि त्रिपुराकोटका सयभन्दा धेरै घरधुरी कुलाको पानी प्रयोग गर्छन् ।
यहाँका मानिसहरु राजनीतिक दलका प्रमुखदेखि जिल्लाको शिक्षित समुदायका रुपमा परिचित भए पनि सर्वसाधारणलाई खानेपानीको स्वच्छ परिपूर्ति गराउनमा ध्यान जान नसकेकामा सर्वसाधारणले गुनासो गरेका छन् । “आजको जमानामा पनि कुलाको पानी सिधै खानुपर्ने बाध्यता छ, दूषित पानी प्रयोग गरेकै कारणले हामी पटक पटक बिरामी पर्ने गर्दछौँ” त्रिपुरासुन्दरी–१ का दुर्गाप्रसाद देवकोटाले भने।
खोलाको बालुवायुक्त पानी सिधै प्रयोग गर्नुपर्ने बाध्यता भएकाले यहाँका धेरैजसो सर्वसाधारणमा पत्थरी रोगको समस्या देखिने गरेको छ । मान्छेमा दूषित पानी प्रयोग गरेकै कारणले ७० प्रतिशतभन्दा धेरै रोग लाग्ने गरेको छ । यहाँका मानिसहरु स्वास्थ्यचौकीमा रुघा, विषमज्वर, झाडापखालालगायत रोग लिएर जाने स्वास्थ्यकर्मी कविप्रसाद उपाध्याय बताउछन् ।
वर्षात्का समयमा खोला बढेर माटोसहितको लेदो आउँदा पनि कुलाको पानी प्रयोग नगर्नाको विकल्प नरहेको स्थानीयवासीले गुनासो गरे । “सरकारले एक घर एक धारा स्वच्छ पिउने पानीको व्यवस्थाका लागि विभिन्न रणनीति तय गरे पनि हामी भने पुरानै युगमा बाँचेको जस्तो लाग्छ”, देवकोटाले बताए। रासस
सम्पर्क इमेल : [email protected]