मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ : उपराष्ट्रपति पुन

- नेपाली हेल्थ

काठमाडौँ, ७ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले मुख स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य नीतिभित्र प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् ।

विश्व मुख स्वास्थ्य दिवस–२०१७ का अवसरमा आज नेपाल डेन्टल एशोसिएसनले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले धेरै रोग लाग्ने प्रमुख द्वार मुख भएकाले सरकारले मुख स्वास्थ्यको सेवा र उपचार ग्रामीण क्षेत्रसम्म पु¥याउन आवश्यक भएको बताए ।

उनले भने, “हाम्रो देशको दन्त उपचार सेवा निकै उत्कृष्ट छ । अन्य रोगका लागि विदेश नै रोज्ने ठूलाबडाले पनि दाँत उपचारका लागि बाहिर गएको सुनिँदैन । यसर्थ देशभित्र उत्पादन भएका दन्त चिकित्सक, दन्तसर्जन र दन्त विशेषज्ञलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म जाने वातावरण बनाउन सरकारसँग आग्रह गर्दछुु ।”

विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले शरीर स्वस्थ भएमा दिमाग स्वस्थ हुने हुनाले स्वस्थ व्यक्तिले मात्र देशमा योगदान गर्नसक्ने बताए । मुख स्वस्थ राख्न खानेपानीसँगै अन्य खानेकुरामा नियन्त्रण र सन्तुलन राख्न सकेमा धेरै कडा रोगबाट बच्न सकिने उनको तर्क थियो ।
विश्व डेन्टल फेडरेसन को आह्वानमा ‘यसबर्ष जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मुख स्वास्थ्य दिवस मनाइएको हो ।

नेपाल मेडिकल एसोसिएसनका संयुक्त कोषाध्यक्ष तथा दन्त विभाग प्रमुख डा प्रकाश बुढाथोकीले सम्पूर्ण नेपालीको दन्त उपचार गर्न पाँचहजार दन्त चिकित्सक आवश्यक परेपनि नेपालमा दुईहजार मात्र चिकित्सक हुुँदा पनि चिकित्सक बेरोजगार र जनता उपचारबाट वञ्चित हुनुपरेको गुनासो गरे ।

सबै प्राथमिक स्वास्थ्य केन्द्रसम्म दन्त चिकित्सक पु¥याउन सरकारले दरबन्दी सिर्जना गरी आवश्यक उपकरणसहितको वातावरण बनाउनुपर्ने उहाँले माग गरे ।

डेन्टल एसोसिएसनका अध्यक्ष डा सन्तोषमान राजभण्डारीले मुख स्वास्थ्य दिवसमा विभिन्न जटिलरोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक भएकाले सरकारले यो विषयलाई पनि गम्भीररुपमा लिई मुख स्वास्थ्यका लागि स्वास्थ्य मन्त्रालयमा छुट्टै महाशाखा स्थापना हुनुपर्ने बताए ।

एसोसिएसनका महासचिव डा मनोज हुमागाईंले दन्त उपचारका लागि केन्द्रीय दन्त अस्पताल आवश्यक भएको बताए । अन्य रोगको अस्पताल भएपनि मुख स्वास्थ्यका लागि केन्द्रीय अस्पताल आवश्यक भएको उनको भनाई थियो ।

दन्त विशेषज्ञ डा सुवास घिमिरेले सरकारले अन्य रोगलाई गम्भीरताका साथ लिई निदान र उपचारमा लगानी गरेपनि मुख स्वास्थ्यलाई आफ्नो प्राथमिकतामा नराखेको बताए ।
डा घिमिरेले मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायतका रोग छ कि छैन भनेर मुखको सम्पूर्ण जाँच गर्दा थाहा पाउन सकिने बताउनुहुन्छ ।

वल्र्ड डेन्टल फेडरेसनका अनुसार फ्लोराइडयुक्त दन्तमञ्जनले दिनमा दुईपटक दाँत माँझ्नाले गिँजा र दाँतलाई बचाउन सकिन्छ । फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माँझ्दा दुई मिनेटमा ९५ प्रतिशत मुखको व्याक्टेरिया हटेर जाने दन्त चिकित्सक बताउँछन् ।

हरेक नेपालीलाई कुनै न कुनैप्रकारको मुखसम्बन्धी समस्या छ । सहरी स्कुले विद्यार्थीमा तयारी खाना खाने कारणले दाँत सड्ने समस्या बढी देखिएको छ । त्यसैले सानैबाट मुख स्वस्थ राख्न अन्य जाँच जस्तै मुखको पनि परीक्षण गरिरहनुपर्ने चिकित्सकको भनाइ छ ।

नेपाल मेडिकल परिषद्मा हालसम्म एकहजार ९६० दन्त चिकित्सक छन् भने ५४६ दन्त विशेषज्ञ दर्ता छन् । हाल १२ दन्त कलेजमार्फत वार्षिकरुपमा नेपालमा मात्र ३०० चिकित्सक उत्पादन हुन्छन् भने तीमध्ये ६७ जना छात्रवृत्तिमा अध्ययन गरेका हुन्छन् । सन् २०१७ बाट यो सङ्ख्या दोब्बर हुने एसोसिएसनको भनाइ छ ।

सरकारले नीति बनाएरै देशका सबै स्वास्थ्य संस्थामा परिचालन गर्नुपर्ने दन्त चिकित्सकको भनाइ रहेको छ । रासस


Facebook Comment


थप समाचार