थप आठ जिल्लामा शुरु भयो ‘पेन प्याकेज’ कार्यक्रम


काठमाडौँ, ३ चैत । नसर्ने रोगको जोखिम नियन्त्रण गर्न सरकारले अघि सारेको योजना ‘प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डीजीज(पेन प्याकेज)’ कार्यक्रम थप आठ जिल्लामा शुरु भएको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य मन्त्रालयले यसअघि नै कैलाली र इलाममा यो कार्यक्रम लागू गरिसकेको छ ।

विहीबार स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा भएको एक कार्यक्रमका बीच थप आठ जिल्लामा पेन प्याकेज कार्यक्रम सुरु भएको घोषणा गरियो । स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाका अनुसार कार्यक्रम थपिएका जिल्लाहरुमा पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट छन् ।

डव्लुएचओको ‘पेन प्याकेज’मा मुटु, मधुमेह, क्यान्सर र स्वासप्रस्वास ( सीओपीडी) रोग नियन्त्रण गर्ने योजना भएपनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर नमूना कार्यक्रम सुरु गरेको थियो । तर थपिएका जिल्लामा चारवटै रोगको कार्यक्रम अघि बढाइएको छ ।

महाशाखा प्रमुख मोहम्मद दाउदले ८ वटा जिल्लामा कार्यक्रम लागू गर्न पाँच करोड बजेट विनियोजन भएको बताए । उनले केही बर्ष भित्रमा यो देशैभरी लागू हुने बताए ।

‘डव्लुएचओ’को प्रतिवेदन अनुसार नेपालमा सन २०१० मा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या ५१ प्रतिशत रहेको थियो तर सन् २०१४ मा पुग्दा यो प्रतिशत बढेर ६० पुगेको छ ।

संसारमै तिब्ररुपमा बढ्दै गएको नसर्ने रोगको जोखिम न्युनिकरण गर्न डव्लुएचओले यो कार्यक्रम अघि सारेको हो । यो कार्यक्रममा नसर्ने रोगको जोखिम न्युनिकरणका उपाय, रोकथाम र उपचार लगायतको प्याकेज रहेको छ ।

पेन प्याकेज कार्यक्रममा मुख्यतया स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने कार्यक्रम छ । यदि कोही व्यक्ति छाती दुखेर स्वास्थ्य चौकीसम्म आयो भने त्यहाँको स्वास्थ्यकर्मीले लक्षण पहिचान गरि नसक्ने अवस्था हुँनासाथ प्राथमिक स्वास्थ्यकेन्द्रमा रिफर गर्छ ।

त्यहाँका चिकित्सकले रोग पत्ता लगाईसकेपछि औषधिको व्यवस्था उनीहरुकै सिफारिसमा स्वास्थ्यचौकीबाट उपलव्ध हुन्छ । निर्देशक दाउदले भने । उनले यो योजनामा नसर्ने रोगको उपचार, यसका जोखिम, बच्ने उपायका बारेमा सम्पूर्ण प्याकेज रहेको बताए । उनले यो कार्यक्रम लागू भएको जिल्लामा निशुल्क औषधिको सूची समेत थप हुनेछ ।

नसर्ने रोग विरुद्धको अभियान स्कुल स्कुलबाट
यसैबीच स्वास्थ्य मन्त्री गगन थापाले नसर्ने रोग विरुद्धको अभियान अव स्कुल स्कुलबाट अघि बढाउने बताए । पेन प्याकेज सुभारम्भ कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री थापाले बोल्दै नसर्ने रोगका कारक तत्वहरु सुर्ती, मदिरा, जंकफुडको प्रयोगमा नियन्त्रण गर्ने तथा शारीरिक व्यायमलाई प्रोत्साहित गर्ने कार्यक्रम अघि बढाउने बताए । उनले ‘पेन प्याकेज’ कार्यक्रम आठ जिल्लाका ५ सय वटा स्वास्थ्य संस्थामार्फत अघि बढाएको बताए ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि राज्यले आवश्यक रकम विनियोजन गरेको बताए ।

उनले मन्त्रालयले सुर्ती मदिरा जस्ता बस्तुहरुको नियन्त्रणका लागि कानून बनिसकेको भन्दै त्यसको कार्यान्वनयमा अव सरकारको ध्यान जाने बताए । कार्यक्रममा डा भगवान कोइराला, डा ओम मूर्ति अनिल लगायतले नसर्ने रोगको कारक तत्वको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पेन प्याकेजको बारेमा पुर्नजागरण महाशाखाका प्रमुख मोहमद दाउदले जानकारी गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *