बाजुरामा कुपोषणबाट बालिका बढी प्रभावित

बाजुरा, २७ फागुन । बाजुरामा कुपोषणबाट बालिका बढी प्रभावित देखिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराद्वारा सञ्चालित कुपोषण एकीकृत व्यवस्थापन परियोजना (आइमम)ले सङ्कलन गरेको तथ्याङ्कअनुसार जिल्लामा कुपोषणबाट बालिका बढी प्रभावित भएका छन् ।

छ महिनादेखि ५९ महिनासम्मका १३ हजार ६८४ जना बालबालिकामा गरिएको सर्वेक्षणमा कुपोषित बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा मोहन नाथले बताए । तीमध्ये एक हजार ४९० जनामा मध्यम कुपोषण र ६४९ जनामा कडा कुपोषण देखिएको छ ।

मध्यम कुपोषण भएकामध्ये ७४२ बालिका रहेका छन् भने कडा कुपोषणमध्ये ४०१ जना बालिका छन् । जिल्लामा १५ प्रतिशतभन्दा बढी बालबालिका कुपोषणका सिकार बनेका छन् ।

कडा कुपोषण भएका ६४९ जनामध्ये नौजनाले उपचार लिन नआएको र ६४० को उपचार गरिएको कुपोषण एकीकृत व्यवस्थापन परियोजना जिल्ला संयोजक डाक्टर उदय प्रकाशले बताए ।

कडा कुपोषण भएर उपचार गराइरहेकामध्ये ४३६ जनालाई निको भएर घर फर्किसकेका छन् भने बाँकी बालबालिकाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय, बाजुराका सिअहेब तथा सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिए ।

उपचार गराइएका दुईजना बालबालिकाको मृत्यु भइसकेको छ । गरिबी, अशिक्षा र चेतना अभावका कारण यहाँका स्थानीयले पोषणयुक्त खानेकुरा आफ्ना बालबालिकालाई खुवाउन सकेको छैन् भने गर्भवती महिलालेसमेत पोषिलो खानेकुरा खान पाएका छैनन् । कुपोषणको मुख्य कारण नै यही हो, जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर मोहन नाथले बताए ।

मध्यम कुपोषण भएका बालबालिकामा कुपोषण दर बढ्न नदिन उपचारार्थ खानास्वरुप सर्वोत्तम आहार बाँड्ने गरिएको छ । ‘सुनौलो हजार दिन’मा र बच्चालाई दैनिक एक सय ग्राम खान मिल्ने गरी बाँड्ने गरिएको उहाँको भनाई छ । कडा कुपोषण भएका बालबालिकाको बहिरङ्ग उपचार सेवा केन्द्रमा उपचार भइरहेका छन् ।

गर्भवती वा सुत्केरी आमा र २३ महिनामुनिका अर्थात् हजार दिनसम्मका बच्चा भएका घरमा मासिक तीन केजी पौष्टिक आहार दिइने गरिएका छन् ।

त्यो आहार खान थालेपछि बच्चाको तौल बढ्ने र कुपोषण समस्या हट्ने गरेको स्थानीयले बताएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *