‘पानी पिउन अल्छी, मिर्गौलालाई सास्ती’

काठमाडौँ, २५ फागुन । “बाहिर त कहाँ पानी पिउनु, पटकपटक शौचालय जानुपर्छ, त्यसैले म त घरमा मात्र पानी पिउँछु” दैनिक कामकाजमा खटिने धेरैको जवाफ यस्तै सुनिन्छ । तर यस्तो बानीले हामीलाई धेरै नै हानी गर्छ । मिर्गौला बिग्रन सक्छ ।

पछिल्लो समय आम्दानीका लागि विदेशिका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्षदिन नबित्दै स्वदेश फर्किनु परेको घटना सार्वजनिक हुन थालेको छ । जाँदा चिकित्सकको प्रतिवेदन राम्रो आएपनि खाडीमुलुकमा पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मिर्गौलामा समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएको छ ।

खाडीमुलुकमा गएका युवा लामो समयसम्म काम गर्ने, आवश्यक मात्रामा पानी नपिउने र शरीरको थकाइ दुखाइबाट छुटकारा पाउन पेनकिलर (नदुख्ने औषधि) खाने र अत्याधिक मासु सेवन गर्ने गरेकाले धेरैको मिर्गौलामा समस्या देखिएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषिकुमार काफ्ले बताउछन् ।

शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो। यसबाहेक मिर्गौलाले हर्मोन पैदा गर्छ । रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो । हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मिर्गौलाको हो ।

तर पर्याप्त पानी पिउँदा मिर्गौलाले काम गर्न छोडेकाले नेपाल फर्कनुपर्ने अवस्था बढ्न थालेको हो । पानी मात्र होइन खानामा आएको परिवर्तनले मोटोपनले पनि मिर्गौला खराबीको जोखिम बढाएको छ ।

मोटोपनले पनि मिर्गौला खराब गर्ने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने सम्बद्ध चिकित्सकको भनाइ छ । अनियन्त्रित खानपान र व्यायामको कमीका कारण मोटोपन बढ्दै गएको हो। त्यसरी मोटोपन हुनु मिर्गौलामा समस्या हुने सङ्केत बन्ने सम्भावना रहन्छ ।

त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा दिव्यसिंह शाह मधुमेह, र उच्च रक्तचापका बिरामीमा पनि मिर्गौलामा समस्या बढी देखिने बताउँछिन् ।

यस्ता कारणले मात्र पनि मिर्गौलामा खराबी नदेखिने भएकाले बेलाबेलामा पिसाब र रगत जाँच गरी मिर्गौैलाको अवस्थाबारे थाहा पाइ राख्नुपर्नेमा उनको जोड थियो ।

हामीले चौबिस घन्टामा कम्तीमा दुई लिटर पिसाब फेर्नु आवश्यक छ तर मिर्गौलामा कुनै समस्या भए पिसाब कम हँदै जान्छ र यसको रङ पनि फरक हुन्छ । पिसाबमा फिँज देखिन्छ, जिउ सुनिन्छ, स्वास फेर्न गार्हो हुन्छ, रक्तचाप बढ्छ, खानामा रुची घट्दै जान्छ र खानै मन नलाग्ने पनि हुन्छ । यीमध्ये कुनै पनि समस्या छ भने तुरुन्त जाँच गराउनुपर्छ ।

नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह भएको प्राप्त तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब हुन्छ । रक्तचाप भएका १५ देखि २० प्रतिशतको पनि मिर्गौला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

डा शाहका अनुसार नेपालमा प्रत्येक वर्ष करिब तीन हजार अन्तिम अवस्थाका मिर्गौलाका नयाँ रोगी थपिने गरेको र उनीहरु डायलासिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक दशमध्ये एक जनालाई कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या हुन्छ ।

त्यसैले मिर्गौला स्वस्थ राख्न सन्तुलित खानपान र पर्याप्त पानी पिउनुका साथै व्यायाम गरेर शरीरलाई सक्रिय राख्नु पर्नेमा उनको सुझाव छ । समयमै ध्यान पु¥याउन सके सबै मिर्गौला रोग निको हुने हुन्छ ।

सरकारले मिर्गौला रोगीका लागि डायलासिस सेवा निःशुल्क गरेको छ ।  मिर्गौलाको उपचार महँगो भएकाले नेपालीले सहज रुपमा उपचार पाउन सकूँन भनेर डायलासिस जस्तै आगामी वर्षदेखि मिर्गौला प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने तयारी गरिरहेको स्वास्थ्यमन्त्री गगनकुमार थापा बताउछन् ।

हाल नेपालका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा तथा वीर, त्रिवि शिक्षण अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ ।

सन् २००६ बाट विश्वमा हरेक वर्षको मार्चको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । यस वर्ष पनि मिर्गौला रोग र मोटोपन ‘स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदै छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *