सामुदायिक स्वास्थ्य केन्द्रमा २१ लाखको अक्षयकोष

म्याग्दी, २३ फागुन । म्याग्दीको हिस्तान गाविस–५ टिकोटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गर्न लाखौँ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

टिकोटका चन्द्रबहादुर पुन र उहाँको परिवारले टेलीमेडिसन सुविधा उपलब्ध उपचार केन्द्र सञ्चालन गर्न रु २१ लाख सहयोग गरेका हुन् ।

विसं २०६८ मा स्थापित क्लिनिकलाई व्यवस्थित र दिगो रुपमा सञ्चालन गर्न पूर्व गोर्खा सैनिक पुन र उनको परिवारले अक्षयकोष स्थापना गरेको स्थानीय प्रदीप पुनले जानकारी दिए ।
बेलायतको गोर्खा सैनिकमा ३२ र बु्रनाइमा १२ वर्ष काम गरेका पुनले छोराछोरी, श्रीमतीसहित परिवारका सात जना सदस्यको तर्फबाट केन्द्रलाई सहयोग गरेका हुन् । यसअघि टिकोट माविको भवन निर्माण गर्न रु १२ लाख सहयोग गर्नुभएका ७१ वर्षीय पुनले विद्यालयलाई थप रु छ लाख सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

हिस्तानको टिकोट र घराम्दी गाउँका बासिन्दाले उक्त स्वास्थ्य केन्द्रबाट लाभ लिएका छन् । क्लिनिकमा टेलीमेडिसन सुविधा पनि उपलब्ध छ । स्थानीय स्वास्थ्यकर्मीले मोडेल अस्पताल काठमाडाँै र ओम हस्पिटल पोखराका डाक्टरसँग भिडियो कम्फरेन्समार्फत बिरामीको उपचार गर्छन् ।

अक्षयकोष रकमको ब्याजबाट क्लिनिकको व्यवस्थापन, कर्मचारीको तलब र औषधि खरिद गर्न खर्च गरिने भएको छ । हिस्तान गाविसको उपस्वास्थ्य चौकी औल गाउँमा रहेको छ । घराम्दी र टिकोट गाउँका बासिन्दालाई औल गाउँमा रहेको उपस्वास्थ्य चौकीमा करिब दुई घन्टा हिँडेर सेवा लिन जान समस्या भएपछि सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *