बैद्यखानाबाट डेढ करोडको औषधि खरीद गर्दै आयुर्वेद विभाग

काठमाडौँ, २३ फागुन । आयुर्वेद विभागले करीब एक दशक पछि सिंहदरबार बैद्यखानाबाट उत्पादित औषधि सोझै खरीद गर्न लागेको छ । विभागले बैद्यखानाबाट करीब डेढ करोड मुल्यको आयुर्वेदिक तथा जडिबुटि औषधि खरीद गर्न लागेको हो । बैद्यखानाले सो मुल्यमा ४३ प्रकारका औषधि उपलव्ध गराउने जनाएको छ ।

विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले देशभरका आयुर्वेदिक स्वास्थ्य संस्था तथा औषधालयबाट निशुल्क वितरण हुँदै आएको ९२ प्रकारका औषधि खरीद गर्ने योजना अनुरुप बैद्यखानाबाट सो परिमाणको औषधि खरीद गर्न लागेको जानकारी दिए ।

यता बैद्यखानाका प्रवन्ध निर्देशक डा. राजेन्द्र गिरीले २०६४ सालपछि पहिलो पटक बैद्यखाना र विभागबीच सोझै औषधि खरीद गर्ने सम्झौँता भएको बताए । उनले ३४ प्रकारका औषधिका लागि १ करोड १४ लाखको सम्झौता भैसकेको र थप ९ प्रकारका औषधिका लागि सम्झौता हुने क्रममा रहेको बताए । ‘यी सबै कारोबार हुँदा रकम डेढ करोड पुग्ने अनुमान छ,’ डा. गिरीले भने ।

विभागले पठाएको औषधि तीन महिना पुग्दैन
औषधि व्यवस्था विभागले आम सर्वसाधारणका लागि देशका ३८० वटा आयुर्वेदिक स्वास्थ्य संस्थाबाट ९२ प्रकारका औषधि निशुल्क उपलव्ध गराउने गरेको छ । तर त्यो औषधि तीन महिना पनि नपुग्ने विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले बताए । उनले भने, ‘सुन्दा ९२ वटा औषधि निशुल्क भन्ने छ तर यति थोरै परिमाणमा हुन्छ कि त्यो तीन महिनालाई पनि पुग्दैन ।’

उनले आउँदो बर्ष देखि निशुल्क औषधिको प्रकार घटाउने र बर्षैभरी उपलव्ध गराउने गरी निर्देशिका संसोधन गर्न लागिएको बताए । ‘हामीले आउँदो बर्ष करीब २० वटा औषधिमात्रै निशुल्कको सूचीमा राख्नेछौँ र त्यो बर्षैभरी उपलव्ध गराउनेछौँ,’ डा. उपाध्यायले  भने ।

बैद्यखानाले उत्पादन गरयो १६ टन चेवनप्राश
सिंहदरबार बैद्यखानाले यसपटक चेवनप्राश मात्रै १६ टन बढी उत्पादन गरेको जनाएको छ । यो परिमाण पछिल्लो केही बर्ष यताको बढी हो । साधारण र स्पेशल गरि निकालिएको चेवनप्राश ४८ वटा जडिबुटी मिश्रीत मानिन्छ ।

नेपालीग्राहकहरुले बैद्यखानाको चेवनप्रास पहिलो रोजाईमा लिन्छन् । त्यस्तै चार बर्ष पछि यौनबर्धक बाझीगर शक्ति समेत उत्पादन गरेको छ । वैद्यखानाले यसको माग समेत अत्यधिक हुने गरेको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *