मिर्गौलापीडित गर्वुजाको जीवनरक्षाका लागि अपिल

(कमल खत्री)म्याग्दी, १८ फागुन । म्याग्दीको मराङ–५ का ३६ वर्षीय मिर्गौलापीडित महेन्द्रबहादुर गर्वुजाको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्न उनका घरपरिवारले अपिल गरेका छन् ।

दुवै मिर्गौलामा खराबी आएपछि हाल टिचिङ अस्पताल काठमाडाँैमा उपचाररत गर्वुजाको घरपरिवारको आर्थिक अवस्था कमजोर भएको र उपचारमा लाग्ने लाखौँ रुपैयाँ खर्च जुटाउन कठिनाइ आएपछि उनका घरपरिवारले सक्दो सहयोग गरी पीडित गर्वुजाको उपचार गराउन आह्वान गरेका हुन् ।

पीडित गर्वुजाकी श्रीमती हेमशरा गर्वुजाले आफ्नो श्रीमान्को मिर्गौला प्रत्यारोपणका लागि करिब रु आठ लाखभन्दा बढी खर्च लाग्ने बताउँदै उक्त रकम जुटाउन सक्दो सहयोग गर्न सबैलाई आग्रह गरिन्। ‘‘दुई वर्षअगाडि एउटा मिर्गौैलाले काम गर्न छाडेपछि त्यसलाई निष्क्रिय पारेका थियौँ, अहिले पुनः अर्को मिर्गौलाले पनि काम गर्न छाडेपछि समस्यामा परेका छौँ’’–गर्वुजाले भने।

एउटा मिर्गौैलाले काम नगरेपछि त्यसलाई शल्यक्रियामार्फत झिकेर घरपरिवारको खर्च जुटाउन गर्वुजा रोजगारीको सिलसिलामा गत कात्तिकमा कतारमा पुगेका थिए । कतार पुगेको तीन महिनामै अर्को मिर्गौलाले समेत काम गर्न छाडेपछि गर्वुजा रित्तोहात घर फर्किन बाध्य भएका थिए ।

घरपरिवारमा अन्य कुनै पनि सदस्यको रोजगारी र व्यापार–व्यवसाय नभएको र आर्थिक अवस्था कमजोर रहेकाले पीडित गर्वुजाको उपचारमा सहयोग गर्न मराङ गाविस कार्यालयले समेत सिफारिसमार्फत आह्वान गरेको छ । पीडित गर्वुजाको तीन छोरा र वृद्ध आमाबुबा रहेका छन् ।

“अहिलेसम्म हामीलाई उहाँले नै पालनपोषण गर्दै आउनुभएको थियो, उहाँ नै बिरामी भएपछि हाम्रो भविष्य नै अन्यौल बनेको छ,” मिर्गौलापीडित गर्वुजाकी श्रीमती हेमसराले भनिन्। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *