स्तन र पाठेघरको मुखको क्यान्सरको उपचार निशुल्क गर्ने तयारी

काठमाडौँ, १२ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ ।

अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम  विनियोजन गर्न लागेको जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप रु एक लाख प्रदान गर्ने गर्दछ ।

व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको आजको बैठकमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले सो जानकारी दिँदै यसका लागि मन्त्रालयलाई कति आर्थिक व्ययभार पर्छ भन्ने हिसाब गर्न लागिएको बताए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा महिलाको स्तन र पाठेघरका गरी बर्सेनि चार हजार नयाँ रोगी थपिने गर्छन् । मन्त्रालयले पाठेघर क्यान्सर रोगको पहिचानका लागि सबै महिलाको पाठेघर बायप्सी परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको छ ।

मन्त्री खड्काले भने – “महिला अनमीमार्फत पहिलो चरणमा सबै महिलाको पाठेघरको बायप्सी परीक्षण गरी  क्यान्सरको परीक्षण गर्ने तयारी गरेका छौँ ।’

यसका लागि मन्त्रालयले अर्थमन्त्रालयसित थप बजेट मागसमेत गरेको छ । उनले मन्त्रालयको योजनालाई सहयोग गर्न अमेरिका चीन,  अस्ट्रेलिया, डेनमार्कका नेपालस्थित राजदूतसित छलफल गरेको जानकारीसमेत बैठकमा दिए ।

हाल मन्त्रालयको महिला, ज्येष्ठ नागरिक तथा बालबालिका र समाजकल्याणका लागि रु दुई अर्ब ४२ करोड बजेट रहेको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकले स्वास्थ्य मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई महिलालाई हुने स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्न निर्देशनसमेत दिएको थियो ।

सुरुको पहिलो तहमा ती स्थानमा क्यान्सरको लक्षण देखिएमा पूर्ण उपचार हुन सक्ने व्यवस्था नेपालमा नै रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *