अस्तव्यस्त बिपी कोइराला क्यान्सर अस्पताल सुधारको बाटोमा

चितवन, १० फागुन । कर्मचारीको गुटबन्दी र कमाउ धन्दाका कारण अस्तव्यस्त बन्दै गएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अब सुधारको दिशातर्फ अघि बढेको छ ।

स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गरी अस्पताल सुधारका लागि अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकलाई निर्देशन दिएपछि यस्तो परिवर्तन आएको हो ।

यस लगत्तै रिक्त सञ्चालक समितिलाई समेत पूर्णता दिएको भए पनि पहिलेका सञ्चालक समिति सदस्यहरुले सर्वोच्च अदालतमा मुद्दा दिएपछि सञ्चालक समितिले पूर्णरुपमा काम गर्न भने पाएको छैन ।

यद्यपि अस्पतालमा छाएको अन्योलतालाई चिर्दै केही हदसम्म काम गर्न अस्पताल व्यवस्थापन सफल भएको कार्यकारी निर्देशक डा चीनबहादुर पुनले बताए । उनका अनुसार लामो समयदेखि अड्किएर बसेको चिकित्सक, नर्सिङ, पारामेडिकल तथा अन्य कर्मचारी गरी एक सयभन्दा बढी कर्मचारीको पदोन्नति तथा स्थायी प्रक्रिया सम्पन्न भइसकेको छ ।

अस्पतालमा अतिरिक्त सेवा (इएचएस) का लागि पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । अब क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकले बाहिर काम गर्न पाउँदैनन् । लामो समयसम्म बिदा स्वीकृत नगराई बसेका चिकित्सक कर्मचारीको अभिलेख तयार गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

त्यस्तै अस्पतालमा टिकट काउन्टरमा टोकन प्रणाली सुरु गरिएको छ । चीन सरकारबाट अनुदान प्राप्त अत्याधुनिक सिटी स्क्यान, डिजिटल मेमोग्राफी, लेजर सर्जरीजस्ता उपकरण जडान गरी प्रयोगमा ल्याइएको छ ।

आइएइए नामक संस्थाबाट प्राप्त सहयोगमा गामा क्यामराको माध्यमबाट बोन, थाइराइड, लिभर, किड्नी स्क्यानिङ गरी परीक्षणसमेत सुरु गरिएको छ ।

त्यसैगरी इमोनो हिस्टो क्यामेस्ट्रीका २८ प्रकारका परीक्षण पनि थालिएको बताउँदै उनले एक महिनाभित्रमा १९७ वटा परीक्षण गरिएको जानकारी दिए । यसबाट जटिल क्यान्सरको परीक्षण गरिन्छ ।

अस्पतालले ट्यूमर भएकाको परीक्षण गरी छिटो रोग पत्ता लगाउन थालेको उनले बताए । बिग्रिएको अवस्थामा रहेको लिनायक सिमुलेटर तथा कोभाल्ट–६० मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको छ । यसले बिरामीको शरीरमा सेकाई गर्ने गर्दछ ।

अस्पतालले १५ वर्षमुनि र ७५ वर्षमाथि उमेर समूहका बिरामीको सबै उपचारमा निःशुल्क गरेको छ भने ७० वर्ष नाघेका बिरामीलाई रेडियो थेरापी र शल्यक्रियामा छुट दिन सुरु गरेको छ ।

कार्यकारी निर्देशक पुनका अनुसार एक वर्षअघिदेखि हुन नसकेको आव २०७२÷७३ को लेखापरीक्षण गराइएको छ । अस्पतालमा नागरिक बडापत्र राखिएको छ । प्रयोगशालामा थप दुईजना चिकित्सक राखेर सेवा प्रभावकारी बनाइएको छ ।

अस्पतालका अध्यक्ष डा प्रकाश न्यौपानेले तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीको माग सम्बोधन गरी तलब वृद्धि गरिएको बताए । उनले टेन्डर मूल्याङ्कन हुन नसक्दा रोकिएका ११ वटा टेन्डरको सदरसँगै औषधि, रिएजेन्टलगायतका सामग्री सहज भएको, बिग्रिएर बसेको फोहर जलाउने इन्सिनेटर मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको र अतिरिक्त सेवाका लागि ५० श्यया सञ्चालन गर्न काम थालिएको जानकारी दिए ।

यसैगरी अस्पतालको स्थापनाकालदेखि नै विभागीय प्रमुख रहेकाहरु सबैलाई परिवर्तन गरी नयाँलाई जिम्मेवारी दिएर काममा चुस्तता ल्याइएको पनि अध्यक्ष न्यौपानेले बताए । अस्पतालमा नौवटा विभाग रहेका छन् ।

सर्वोच्चले गर्ने फैसलासँगै सञ्चालक समितिले पूर्णता पाउने भन्दै उनले त्यसलगत्तै अस्पतालमा २०० श्यया थप गर्ने योजना रहेको जानकारी दिए । हाल अस्पतालमा १९४ श्यया मात्र छन् जसका कारण बिरामीको चाप थेग्न कठिन हुँदै आएको छ । सञ्चालक समितिका सम्बन्धमा सर्वोच्चले यही फागुन ५ गते निर्णय दिने अपेक्षा गरिएको छ ।

डा न्यौपानेका अनुसार त्यसलगत्तै सञ्चालक समिति बैठक राखेर पुराना उपकरण विस्थापित गरी नयाँ खरिद गर्ने, बिएस्सी अन्कोलोजी नर्सिङ कलेज सञ्चालनमा ल्याउने र अस्पताललाई क्यान्सर प्रतिष्ठानका रुपमा विकास गर्ने योजना छ ।

चीन सरकारको सहयोगमा निर्मित सो अस्पतालमा नेपाल र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्दछन् । गत वर्ष १३ हजार क्यान्सर रोगीसहित एक लाख २० हजार बिरामीले अस्पतालबाट सेवा लिएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *