रक्त सञ्चार केन्द्र सञ्चालनमा आएन

बाजुरा, १० फागुन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराको समन्वयमा हुन लागेको रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा ढिलाइ भएको छ ।

गएको असारबाट सञ्चालनमा आउने भनिएको निर्धारित समयको नौ महिना बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो ।

सो रक्त सञ्चार सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराको समन्वय तथा जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा सञ्चालन हुने लागेको छ ।

केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने औजार उपकरण तथा भौतिक संरचना निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट रु १५ लाख रकम विनियोजन गरिएको थियो । विनियोजन गरिएको रकम खर्च भएपनि रक्त सञ्चार केन्द्र भने सञ्चालनमा आउन नसकेको हो ।

रगत नभएकै कारण अकालमा ज्यान गुमाउनु पर्ने समस्या समाधान गर्न ब्लड बैंक अर्थात् रक्त सञ्चार केन्द्र स्थापना गर्नमा सांसदले रकम छुट्याउने सहमति गरेका थिए । मानव सेवामा समर्पित समाज सेवी संस्थाले लिएको काम समयमै र गुणस्तरीय होला र सेवा उपयोग गर्न पाउने आशा सर्वसाधारणले गरे पनि त्यो अझै पूरा हुन सकेको छैन ।

रेडक्रसले असारमा रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याउने गरी काम गर्न जिम्मा लिएको थियो । रकम सबै भुक्तानी भएर खर्च देखाइ सकिएको छ । तर भवन आवको नौ महिना ढिलो गरी मात्र पूरा भएको हो । रकम रु आठ लाखमा भवन निर्माण गरेको र रु सात लाखमा रक्त सञ्चार केन्द्रका सामान किनिसकेको बिल देखाएर भुक्तानी भइसकेको छ ।

आवश्यक सामान तथा औजार आइसकेको र तत्काल सञ्चालनमा आउने रेडक्रस मन्त्री रमबहादुर शाहीले बताए । आवश्यक जनशक्तिदेखि अन्य प्राविधिक व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको शाहीको भनाइ छ । दिन प्रतिदिन रगतको अभावका कारण मृत्युको मुखमा पुगेका बिरामी आउने गरे पनि रक्त सञ्चार केन्द्र सञ्चालनमा भएको ढिलाइले थप समस्या देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा पटकपटक रगत अभाव भएका बिरामी आउने गरेका भएपनि उनीहरुले नेपाली सेना, नेपाल प्रहरीलाई गुहार्दै आएका बिरामीले बताउने गरेका छन् ।

रगत अभावकै कारण उपचारमा आएका बिरामी जिल्ला बाहिर रिफर गर्नुपरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *