अञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालन

कञ्चनपुर, १० फागुन । आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलनमा उत्रिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले आजदेखि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरको ओपिडी (बहिरंग) सेवा सञ्चालन गर्ने सहमति गरेका छन् ।

जिल्लास्थित स्वास्थ्य क्षेत्रमा क्रियाशील संयुक्त ट्रेड युनियनका पदाधिकारी र महाकाली अञ्चल अस्पतालका प्रमुखबीच सोमबार भएको सहमतिअनुसार बन्द अवस्थामा रहेको ओपिडी सेवा बिहान १० बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको हो । जनस्वास्थ्य कार्यालयका सम्पूर्ण काम कारबाही भने पूर्ववत्झैँ ठप्प रहने नेपाल स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष लोकराज भारतीले बताए ।

यसैगरी, प्रत्येक महिनाको ४ गतेदेखि सञ्चालन हुने खोप सेवा स्वास्थ्यकर्मी आन्दोलनमा गएपछि प्रभावित भएको छ । आन्दोलनका कारण स्वाथ्यकर्मीले खोप नलाउँदा खोप लिँदै आएका ११ हजार ६०० बालबालिका प्रभावित भएका छन् ।

स्वास्थ्य ऐन २०५३ को दफा(९) ख अन्तर्गत राष्ट्रसेवक स्वास्थ्य कर्मचारीले समायोजन तथा पदस्थापनको माग अघि सार्दै तीन वर्षदेखि आन्दोलित हुँदै आएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *