‘हरेक चार मध्ये एक जना नेपालीलाई मानसिक स्वास्थ्य समस्या’

काठमाडौँ, ६ फागुन । नेपालमा हरेक चार मध्ये एक जनामा मानसिक स्वास्थ्य समस्या रहेको सरोकारवालाले बताएका छन् । तर उनीहरुले मानसिक समस्यामा परेकामध्ये उपचारको पहुँचमा भने जम्मा २० प्रतिशत मात्रै पुग्ने गरेको दावी गरेका छन् ।

नेपाल मनोचिकित्सक संघ ( प्यान)को आजबाट राजधानीमा सुरु भएको छैटौँ राष्ट्रिय सम्मेलनमा बोल्ने मनोचिकित्सकहरुले मानसिक स्वास्थ्य समस्याको दर बढदै गएको र उपचारको पहुँचमा एकदमै न्युन रहेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्याक्रममा बोल्दै प्यानका अध्यक्ष एवं बरिष्ठ मानसिक रोग विशेषज्ञ डा सरोज ओझाले हाम्रो जस्तो विकासोन्मुख देशमा रहेका करीब २५ प्रतिशत अर्थात हरेक ४ मा १ जना व्यक्तिमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको बताए । उनले समस्यामा परेका मध्ये युवा तथा किशोरकिशोरीहरु बढी प्रभावित भएको भन्दै उपचारको पहुँचमा भने २० प्रतिशत मात्रै पुगेको बताए ।

मनो चिकित्सक प्राडा विद्यादेव शर्माले महिलाहरुको अकाल मृत्युको प्रमुख कारण मानसिक रोग भएको भन्दै यसलाई रोक्न सबै सरोकारवाला मिलेर विशेष पहल कदमी लिनुपर्ने बताए ।

मानसिक रोग धेरै प्रकारको भए पनि धेरैले यसलाई कडा रोग हो निको हुँदैन वा लामो समय औषधि खानुपर्छ भन्ने धारणा मानिसमा रहेको बताउँदै नेपालका वरिष्ठ मनोरोग विशेषज्ञ डा देशराज कुँवरले सबैलाई मानसिक स्वास्थ्यमा पहुँच पु¥याउन सरकारले छुट्टै मानसिक महाशाखाबाट काम गर्नुपर्ने बताए ।

नेपालमा हाल १५० मनोरोग विशेषज्ञ छन् । त्यसमध्ये केही देश बाहिर छन् भने नेपालमा भएका विशेषज्ञ सहर केन्द्रित भएकाले ग्रामीण क्षेत्रमा बस्ने जनताले उपचार र परामर्शबाटै निको हुने मनोसामाजिक रोगको पनि उपचार पाउन सकेका छैनन् ।

अधिकांश मानसिक रोगीलाई आफू मानसिक रोगबाट पीडित छु भन्ने कुराको जानकारी नै नहुने हुँदा उपचारमा नजानेको अनुभव सुनाउँछन, अर्का वरिष्ठ मनोरोग विशेषज्ञ महेन्द्रकुमार नेपाल ।

बालमनोरोग विशेषज्ञ डा अरुणराज कुँवरले धेरै बालबालिका पनि धेरै खालको मानसिक समस्या हुने गरेको भए पनि अभिभावकलाई त्यसको जानकारी हुन नसक्दा चिकित्सक नआउने गरेको बताए ।

समयमा नै उपचार पाउने र नियमित औषधिको प्रयोग गर्ने हो भने मानसिक रोग निको हुन्छ । सामान्य खालका मानसिक रोग कतिपय अवस्थामा उचित परामर्श मात्रले पनि निको हुने गरेका कारण यसबारेमा विभिन्न जनचेतनात्मक कार्यक्रम सञ्चालन गरी जनमानसमा जानकारी दिनुपर्ने देखिन्छ ।

यसैबीच स्वास्थ्यमन्त्री गगनकुमार थापाले भयावह भन्दै गएको मानसिक रोगको समस्या न्युनिकरणका लागि सरकारले मानसिक स्वास्थ्य नीति बनाउन थालेका बताएका छन् । उनले प्राथमिक स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालबाटनै मानसिक रोगको उपचार हुने व्यवस्था मिलाउन लागिएको भन्दै मन्त्रालयले तयसका लागि आवश्यक जनशक्ति र बजेट विनियोजन गर्न लागेको बताए ।

जिल्लामा जाने ७० प्रकारका निशुल्क औषधि मध्ये ६ प्रकारको मानसिक स्वास्थ्य सम्वन्धी रहेको भन्दै त्यसको प्रभावकारी प्रयोगको लागि पनि उपचार व्यवस्था प्रभावकारी बनाउन खोजिएको बताए । मन्त्री थापाले काठमाडौँमा सञ्चालनमा ल्यउन लागिएको शहरी स्वास्थ्य प्रवद्धन केन्द्रहरुमा मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राखिने जानकार दिए ।

प्यानकनले आयोजना गरेको राष्ट्रिय सम्मलेनमा १५० भन्दा बढी मानसिक रोग विशेषज्ञ चिकित्सकहरुको उपस्थिति रहेको छ । सम्मेलनमा ५० वटा सैद्धान्तिक कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ ।

आज र भोली सम्म चल्ने सम्मेलनमा नेपाल लगायत भारत, माल्दिभ्स, न्युजिल्याण्ड, अष्टेलिया लगायतका देशका मानसिक रोग विशेषज्ञहरुको उपलस्थिति रहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *