कुष्ठरोग उन्मूलनका लागि मोरङमा एलपिइपी कार्यक्रम

(प्रभाषचन्द्र झा) विराटनगर, ६ फागुन । कुष्ठरोग निवारणका लागि मोरङमा दुई वर्षदेखि लेप्रोसी पोस्ट एक्सपोसर प्रोपाइलासिस(एलपिइपी) कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

नेदरल्यान्ड लेप्रोसी रिलिफ एसोसिएसनको सहयोगमा तीन वर्षका लागि यो कार्यक्रम मोरङका साथै झापा र पर्सा जिल्लामा सञ्चालित छन् । यस कार्यक्रमको माध्यमबाट २०७० सालदेखि कुष्ठरोगका बिरामीसंगै रहेका छिमेकीको (नयाँ कुष्ठरोगी खोजी गरेर)समेत स्वास्थ्य परीक्षण गरी उपचार हुँदै आएको छ ।

यसमा संलग्न टोलीले कुष्ठरोगी र संगैका छिमेकीलाई कार्यक्रमको महत्व र उद्देश्यबारे जानकारी गराउँछन् । त्यसपछि सम्बन्धित व्यक्तिले स्थास्थ्य परीक्षणका लागि स्वीकृति दिए गर्भवती र दुई वर्षसम्मका बालबालिकाबाहेक सबैको स्वास्थ्य परीक्षण गरिन्छ ।

एक उपमहानगरपालिका, आठ नगरपालिका र ५० गाविस भएका मोरङ जिल्लाका ४५ गाविसमा यो कार्यक्रम सम्पन्न भइसकेको छ । सो कार्यक्रममार्फत ४३ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत मुलुकचन्द राजवंशीले जनाए ।

कुष्ठरोग दुई प्रकारको हुन्छ । छ महिना औषधि खाने पौंसी बैसिलरी (पिबी) र एक वर्ष औषधि खानुपर्ने मल्टी बेसिलरी (एमबी) । सो कार्यक्रममार्फत पिबीका ३१ जना र एमबीका १२ जनाका साथै दुईजना क्षयरोगीसमेत फेला परेको अधिकृत राजवंशीले बताए । प्रत्येक १० हजारभध्ये एक वा सो भन्दा कम कुष्ठरोगीको संख्या घटाउँदै लाने सरकारी लक्ष्य बमोजिम यस जिल्लामा एलपिइपी कार्यक्रम ल्याइएको हो ।

जिल्लामा आव २०७१/७२मा २१५ जना कुष्ठरोगीमध्ये १४ वर्षमुनिका १९ र महिला ९१ रहेकामा १४५ जना उपचार गराएर निको भएका थिए ।
त्यसैगरी २०७२/७३मा २०२ जना रोगीमध्ये १४ वर्षमुनिका १८ र महिला ८८ जना रहेकामा १५९ जनाले उपचार गराई निको भएका थिए । सो अवधिमा प्रति १० हजार मानिसमा १ दशमलव ५९ जना सो रोगबाट पीडित पाइएको थियो । चालु आवर्षको चार महिनामा नयाँ ६५ जना गरी १५७ जना बिरामीको उपचार भइरहेको छ ।

सरकारले कुष्ठरोगीका लागि निःशुल्क औषधि उपलब्ध गराएँदै आइरहेको छ । मोरङमा प्राथमिक स्वास्थ्यकेन्द्र र स्वास्थ्य चौकीसमेत गरी ६९ स्थानबाट निःशुल्क रुपमा औषधि वितरण गरिन्छ । बिरामी निको भइसकेपछि रु एक हजार नगदसमेत उपलब्ध गराइन्छ । यसका साथै खुट्टामा घाउ भएको, सुन्निएका बिरामीको नापअनुसार जुत्तासमेत उपलब्ध गराउने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

माइक्रोब्याक्टेरियन लेप्रेको जीवाणुबाट हुने रोगमा बिरामीका शरीरमा लाटो फुस्रो हुनु, नचिलाउनु, हातखुट्टा झमझम गर्नु, कानको लोती बाक्लो हुनु, नशा सुन्निनु, मोटो हुनु र आँखीभौँ झर्नुजस्ता लक्षण देखा पर्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *