गर्भपतन सेवा लिने किशोरीको सङ्ख्या बढ्दो

रोल्पा, २ फागुन । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् ।

सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिइन् ।

असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा लिँदा सामाजिक विकृति फैलने हो कि भन्ने डर रहेको थापाले बताइन् । विद्यालय अध्ययन गर्ने उमेरका १८ जना किशोरीले यो सेवा लिएको अभिलेखमा देखिन्छ थापाले भनिन् ।

किशोरीले नै गर्भपतन गराउँदा सामाजिक विकृति बढ्न सक्ने किशोरी शिक्षा सहजकर्ता तीर्था आचार्य बताउछिन् । किशोरी शिक्षाले उनीहरुलाई धेरै सचेत बनाएको भए पनि जिल्लाभर यो कार्यक्रम नभएका कारण सीमित ठाउँमा मात्र यसको प्रभाव देखिएको छ ।

जिल्लाका विभिन्न आठ गाविसमा किशोरी शिक्षा सञ्चालन भएको तथा ती गाविसमा बाल विवाहको दर समेत घट्दै गएको महिला तथा बालबालिका अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिए । ५६ प्रतिशत रहेको बाल विवाहदर अहिले ४५ प्रतिशतमा झरेको छ आचार्यले भने ।

चेतनाको अभावका कारण सानैमा विवाह गर्ने तथा गर्भपतन गराउने देखिएको हुँदा जिल्लाभर यसको रोकथामका लागि अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

जिल्लाको सुलिचौर, होलेरी प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट निःशुल्क गर्भपतन सेवा सञ्चालन हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *