खानेपानीको अभावले जिल्ला अस्पताल प्रभावित

सल्यान, २८, माघ । जिल्ला अस्पताल सल्यानमा खानेपानीको अभाव हुँदा सरसफाइमा समेत समस्या देखिएको छ ।

दिनहुँ जसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालको शौचालयसमेत दुर्गन्धित भएको छ ।

हप्तामा एक÷दुईपटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिइन्।

अस्पतालजस्तो अति संवेदनशील संस्थामा पानी आपूर्ति सहज नहुँदा स्वाथ्योपचारमा समेत समस्या भएको डा रावलले बताइन् ।

अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उनको भनाइ छ ।

जिल्ला अस्पताललाई तारबारले नघेरिएको कारण स्थानीयवासीका चौपायाले समेत दुःख दिन थालेका छन् । स्थानीयवासीका गाई, बाख्रा अस्पताल परिसरमा छिरेर फोहोर गर्ने भएकाले पनि समस्या देखिएको छ ।

अस्पतालको जनरल वार्ड बाहिर राखिएको बेडमा गएर बाख्रा बस्ने त्यही मलमूत्र गर्ने तथा अन्य स्थानमा समेत फोहर गर्ने भएकोले समस्या भएको डा रावलले बताइन् । चैपायालाई छाडा नछोडिदिन पटक/पटक भनेको भए पनि स्थानीयवासीले सुधार नगरेको उनको गुनासो छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *