चाबहिलको मैजुबहालमा ‘हेल्थ प्रमोसन सेन्टर’

काठमाडौँ, २५ माघ । पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले चाबहिलको मैजुबहालमा स्वास्थ्य प्रवद्र्धन केन्द्र (हेल्थ प्रमोसन सेन्टर) खोलिने भएको छ ।

राजधानीको १० स्थानमा खोल्ने लक्ष्य लिइएको भएपनि चाबहिलबाट सुरुआत गर्नेगरी स्थान टुङ्गो लगाएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए। उनले दशमध्ये सात स्थानको टुङ्गो लागिसकेको र बाँकी तीन स्थान पनि छिट्टै टुङ्गो लगाइने बताए ।

यस्तै, मैतीदेवी, नक्सालस्थित नन्दी रात्रि स्कुलको खाली रहेको जग्गा, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क तथा डल्लुस्थित डल्लु आवास क्षेत्रमा निर्माणाधीन भवनमा पनि सेन्टर खोल्न प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रवद्र्धन केन्द्र (हेल्थ प्रमोसन सेन्टर) खोल्ने तयारी गरेको एक महिना अगाडि घोषणा गरेको थियो । राजधानीमा जनचाप धेरै हुने र पूर्वाधार भएको स्थान हेरी प्रारम्भमा कम्तीमा १० वटा सेन्टर खोल्ने मन्त्री थापाको भनाइ छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अहिले सञ्चालनमा रहेका सहरी स्वास्थ्य क्लिनिकलाई परिमार्जन गरी थप जनशक्तिसहित हेल्थ प्रमोसन सेन्टर खोल्न लागिएको बताए ।

यस्ता सेन्टरको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्ने र आर्थिक स्रोतका लागि मन्त्रालय र महानगरले समान लगानी गर्ने बताइएको छ ।

यस्ता सेन्टरमा एक÷एक जना एमबिबिएस डाक्टर, ल्याब र एक जनस्वास्थ्य अधिकृत रहनेछन् जसले नसर्ने रोगका बारेमा परामर्श दिने र पिसावको जाँचद्वारा मिर्गौला र अन्य रोगको परीक्षण निःशुल्क गर्ने व्यवस्था गरिने बताइएको छ ।

सेन्टरले रोग लागेका व्यक्तिलाई सम्बन्धित अस्पतालमा पठाउने र जोखिममा रहेका व्यक्तिलाई जीवनशैली परिवर्तन र खानपानका लागि उपयुक्त सुझाव दिनेछ । सेन्टरको प्रमुख उद्देश्य रोग लाग्नै नदिनु र जोखिममा रहेका व्यक्तिलाई जोगाउनु रहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

केही समयअघि सरुवा रोगले ग्रस्त बनाएको नेपालमा जीवनशैलीमा आएको परिवर्तनसँगै बदलिएको खानपान, रहनसहनले नसर्ने रोगले व्यापकता लिँदै आएको छ । सरकारको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अहिले ६० प्रतिशत नसर्ने र ४० प्रतिशत सरुवा रोगका कारण मानिसको मृत्यु हुने गरेको छ ।

सेन्टरमा रहेका जनस्वास्थ्य अधिकृतले खानेपानी, खाद्यान्न, रेस्टुराँ, होटल लगायतका क्षेत्रमा गुणस्तर अनुगमन पनि गर्नेछन् । व्यायाम र योगको व्यवस्था पनि हुनेछ ।

चरणबद्ध रुपमा देशभरका सहरी स्वास्थ्य क्लिनिकलाई हेल्थ प्रमोसन सेन्टरमा परिमार्जन गर्ने मन्त्रालयको योजना रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *