पाल्पामा कुष्ठरोगका बिरामी १३ जना भेटिए

पाल्पा, २४ माघ । पाल्पामा १३ जना कुष्ठरोगका बिरामी भेटिएका छन् । उनीहरुले हाल नियमित औषधि सेवन गरिरहेका छन् । जिल्लामा सङ्क्रमित कुष्ठरोगीमध्ये आठ जनाले प्रक्रिया पूरा गरेको पाइएको छ । यस आर्थिक वर्षमा चारजना नयाँ कुष्ठरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लामा बर्सेनि १५÷१६ को हाराहारीमा कुष्ठरोगीका बिरामी फेला पर्ने गरेको क्षयकुष्ठ रोग अधिकृत विश्वनाथ न्यौपानेले बताए । जिल्ला सदरमुकाम तानसेन नगरपालिका, रामपुर नगरपालिका, खस्यौली, पालुङमैनादी, कसेनी, दोभान, ठिमुरे, दर्लमडाँडा, हेक्लाङ्ग लगायतका गाविसमा कुष्ठरोगका सङ्क्रमित बिरामी देखापरेको न्यौपानेले बताए ।

छाला, स्नायु तथा नशामा असर गरेपछि अङ्गभङ्ग गर्ने हुँदा सुरुमा नै स्वास्थ्य संस्थामा उपचार गर्न सङ्क्रमित बिरामीलाई स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । लाटोफुस्रो दाग देखिने, नशामा असर गर्ने, हातखुट्टा झमझम गर्ने लगायतका लक्षण देखापरेमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गर्न बिरामीलाई सुझाव दिइएको स्वास्थ्यकर्मी बताउँछन् ।

चार हजार ४६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

महिला तथा बालबालिका कार्यालय पाल्पाले चार हजार ४६ जना अपाङ्ग व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । कार्यालयले एक हजार नौ सय ८६ महिला र दुई हजार ६० पुरुषलाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो ।

‘क’ वर्गका पूर्ण अशक्त तीन सय १० जनालाई रातो, ‘ख’ वर्गका अति अशक्त एक हजार २८ जनालाई नीलो, ‘ग’ वर्गका मध्यम अशक्त एक हजार तीन सय ९७ जनालाई पहेँलो र ‘घ’ वर्गका सामान्य अशक्त एक हजार तीन सय ११ जनालाई सेतो परिचयपत्र वितरण गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख तुलसा अर्यालले जानकारी दिइन ।

शारीरिक, मानसिक, श्रवण, बोलाई, दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्ति एवम् बहुअपाङ्गता भएका व्यक्तिलाई मात्र अपाङ्गता परिचयपत्र वितरण गरिँदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *