केन्द्रबाट औषधि आपूर्ति नहुँदा जिल्लामा समस्या

 

सल्यान, २१ माघ । सरकारले निःशुल्क रुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा जिल्लामा समस्या देखिएको छ । विगत दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, सल्यानका अनुसार जिल्लाले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउँछ । बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत्रमा भर पर्नुपर्ने भएकाले समस्या परेको हो । “सरकारले निःशुल्करुपमा वितरण गर्ने भनिएका ७० प्रकारका औषधिको कुल मागको ५० प्रतिशत केन्द्र, ३० प्रतिशत क्षेत्र र बाँकी २० प्रतिशत जिल्लाबाट खरिद गर्ने व्यवस्था छ, जिल्लाले मात्रै खरिद गरेर आपूर्ति गर्न सक्दैन । केन्द्र र क्षेत्रबाट आउने औषधि विगत दुई वर्षदेखि अनियमित भएको छ”, जिल्ला जनस्वास्थ्य प्रमुख डा मनिषा रावलले बताइन ।

केन्द्र तथा क्षेत्रबाट औषधि प्राप्त नभए पनि जिल्लामा औषधिको अभाव हुन नदिने जनस्वास्थ्य प्रमुख डा रावलले जानकारी दिइन । “हाल जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्रसहित सबै स्वास्थ्य संस्थामा आगामी दुई महिनाका लागि पुग्ने औषधि हस्तान्तरण भइसकेको छ, मन्त्रालयबाट औषधि खरिदका लागि थप रु १० लाख प्राप्त भएकोमा सोको टेन्डर पनि भइसकेको छ”, रावलले बताइन् । आगामी दुई महिनाका लागि पर्याप्त औषधि स्वास्थ्य संस्थामा उपलब्ध गराइएको त्यसपछि के हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने रावलले जानकारी दिइन् ।

सरकारले निःशुल्क रुपमा वितरण गर्ने औषधि पाउनबाट सर्वसाधारण वञ्चित हुनुनपरोस् भनेर आफूले सक्दो प्रयास गरेको रावलले जानकारी दिइन् । “जिल्लामा औषधि अभाव हुन नदिन संस्थागत तथा व्यक्तिगत रुपमा प्रयास गरेको छु, जसको परिणामस्वरुप थप रकम प्राप्त भएको छ”, रावलले भनिन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *