सीता बचाउ अभियानमा करिब रु ४० लाख

म्याग्दी, २० माघ । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्त क्यान्सरबाट पीडित सीता (कृष्णकुमारी)कटुवाल क्षेत्रीको उपचारार्थ करिब रु ४० लाख सहयोग जुटेको छ । बोनम्यारो र रक्तक्यान्सरको उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देली र नेपालीबाट उक्त आर्थिक सहयोग संकलन भएको हो ।

सीता बचाउ अभियानका सदस्य हरि भण्डारीले क्षेत्रीको उपचारमा न्यूनतम रु ७० लाख खर्च हुने भएपनि हालसम्म रु ४० लाख मात्र आर्थिक सङ्कलन भएको जानकारी दिए । उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि सुरु गरिएको सीता(कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानमा स्वदेश तथा विदेशमा रहेका राखुवासी र म्याग्देलीको पहलमा सहयोग सङ्कलन गर्ने काम भइरहेको छ ।

“क्षेत्रीको जीवनरक्षाका लागि सञ्चालन गरिएको अभियानमा सहयोग गर्नेहरुप्रति आभारी छाँै, सहयोगदाताबाट प्राप्त सहयोगले पीडित क्षेत्रीको उपचारमा ठूलो राहत मिलेको छ, उहाँहरुप्रति हामी आभारी छौँ’’– अभियानका संयोजक नन्दबहादुर खत्रीले भने ।

गत पुस ६ गतेदेखि सुरु गरिएको सीता बचाउ अभियानअन्तर्गत सङ्कलित रकममार्फत पीडित क्षेत्रीको उपचार भइरहेको छ । क्षेत्रीको बोनम्यारो प्रत्यारोपणका लागि अहिले भारतको नयाँ दिल्लीमा रहेको इन्दिरागान्धी अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबारदेखि क्षेत्रीको उपचार प्रक्रियाअन्तर्गत बोनम्यारो प्रत्यारोपणको परीक्षण सुरु हुने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

क्षेत्रीको सहयोगार्थ गठित सीता बचाउ अभियान समितिले क्षेत्रीको सहयोगार्थ बेनीस्थित ग्लोबल आइएमई बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा जम्मा गर्न सकिने व्यवस्था गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *