बिमा कार्यक्रममा झन्डै आठ हजार बढी सदस्य

धनगढी, १२ माघ । कैलाली जिल्लामा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा (बिमा)कार्यक्रम अन्तर्गत गएको आठ महिनामा आठ हजार ५३२ जना बिमित भएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यालयका जिल्ला प्रबन्धक कपिलदेव अर्यालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत बिमाको रकम बुझाइ सदस्यता लिनेको संख्या बढ्दै गएको बताए ।

बिमित भएकामध्ये हालसम्म तीन हजार जनाले सेवा लिइसकेको बताइएको छ । जिल्लामा यो सेवा चौमाला, भजनी, जोशीपुर, र उदासीपुर स्वास्थ्य केन्द्रकासाथै सेती अञ्चल अस्पताल र टिकापुर अस्पताल मार्फत उपलब्ध भइरहेको अर्यालले बताए ।

यी स्वास्थ्य संस्थाबाट सिफारिस भएका बिरामीले वीर अस्पताल, कोहलपुर मेडिकल कलेज, चितवनको क्यान्सर अस्पताल लगायतबाट थप उपचार सेवा पाइरहेका छन् ।

सरकारले गरिबीको सूचीमा रहेका व्यक्तिलाई परिचयपत्र वितरण गरेपछि त्यसको आधारमा अति गरिबलाई सतप्रतिशत, गरिबबाट ७५ प्रतिशत, जोखिमा रहेकाबाट ५० प्रतिशत शुल्क लिएर सदस्य बनाउने योजना रहेको अर्यालले जानकारी दिए ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ तथा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली २०७२ बमोजिम सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, तथा प्रभावकारी रुपमा उपलब्ध गराई स्वस्थ्य समाज निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यो कार्यक्रम अन्तर्गत बिमित भएका पाँचजना सदस्यसम्म भएको परिवारलाई एक परिवार मानेर वार्षिक रु दुई हजार ५०० प्रिमियम शुल्क बुझाइ रु ५० हजार बराबरको सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट पाउने गरेका छन् । पाँच भन्दा बढी सदस्य भएको परिवारको हकमा बढेको सदस्य प्रत्येकको लागि रु४२५ का दरले थप गर्दै जानुपर्ने र यसरी सदस्यता लिँदा सम्बन्धित परिवारको सुविधा थैलीमा समेत रु १०, हजारका दरले थप हुँदै जाने बताइएको छ ।

एक वर्षका लागि मान्य हुने यो सेवा सुविधा लिन चाहनेले अर्को वर्ष पुनः बिमाबापतको रकम बुझाई नवीकरण गर्नुपर्ने हुन्छ ।

नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेकोको परिप्रेक्षयमा सरकारले यो कार्यक्रम पहिलो पटक गत जेठ महिनादेखि कैलाली जिल्लावाट कार्यान्वयनमा ल्याएको हो । पछिल्लो पटक बागलुङ र इलाम जिल्लामा समेत लागू गरिएको जनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *