‘स्वास्थ्य महोत्सव’ मुलुकमै नौलो प्रयोग

(चन्द्रकला भण्डारी)झापा, ११ माघ । मेचीनगरमा नेपाली काँग्रेसले आयोजना गरेको सात दिवसीय ‘प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव’ मुलुकमै नौलो प्रयोग भएको छ ।

राजनीतिक दलले स्वास्थ्य सेवाका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्नु आफैँमा नौलो र उदाहरणीय कार्य भएको वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदी बताउछन् । ‘स्वस्थ समाजका लागि स्वस्थ साहित्य’ विषयको छलफलमा भाग लिन प्रा डा सुवेदी काठमाडौँबाट झापा आएका हुन् । उनीदुई दिन महोत्सवमा रहे ।

महोत्सवमै भाग लिन आएका अर्का साहित्यकार खगेन्द्र सङ्ग्रौला पनि दलले आयोजना गरेको स्वास्थ्य महोत्सवलाई सामाजिक आन्दोलनको मौलिक प्रयोग भएको बताउछन् । “हामीकहाँ साहित्य, कला र सांस्कृतिक महोत्सव धेरै भएका छन्”, महोत्सव सन्देशमूलक भएको बताउँदै साहित्यकार सङ्ग्रौला भन्छन् – “यस किसिमको स्वास्थ्य महोत्सव नितान्त नयाँ र रमाइलो लाग्यो ।”

आयोजकले यही माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य महोत्सवको सातै दिन विशेषज्ञ चिकित्सकको सेवासहित निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । दिनैपिच्छे स्वास्थ्यसँग जोडिएका विषयमा आयोजना हुने छलफलले महोत्सवको आकर्षण थपेको छ ।

महोत्सवमा मुटु, मिर्गौला, कलेजो, मधुमेह, इएनटी, हाडजोर्नी, बालरोग, स्त्रीरोग, आँखा, नसा, फोक्सो, बुढ्यौली जस्ता रोगको उपचार काठमाडौँ, पोखरा, विराटनगर, धरान, बिर्तामोड, भद्रपुर र काँकडभिट्टाबाट आएका विशेषज्ञहरुले गरिरहेका छन् ।

साहित्य, कलाजस्ता विषयमा मात्र आयोजना हुँदै आएको महोत्सवमा बेग्लै स्वास्थ्य महोत्सव आयोजना हुँदा विज्ञको स्वास्थ्यसम्बन्धी धारणा प्रत्यक्ष सुन्न र आफ्ना मनका जिज्ञासा पोख्नसमेत पाइएको मेचीनगर लेडी जेसिजका अध्यक्ष शोभा श्रेष्ठको अनुभव छ ।

मेचीनगर लेडी जेसिजले महोत्सवमा खाजाघरको कक्ष राखेर कोदो, फापर, चामलको रोटीसहितको मौलिक नेपाली परिकार बिक्री गरिरहेको छ । जेसिज आफैँले खाजाघरको कक्ष राखेर स्वस्थ र मौलिक परिकार बेच्दा त्यहाँ खाजा खान सर्वसाधारणको मात्र नभएर चिकित्सक, साहित्यकार, शिक्षकलगायतको घुइँचो लाग्ने गरेको छ ।

बालरोग विशेषज्ञ डा गणेश राई रोगीको उपचारभन्दा छलफलमार्फत स्वास्थ्यका विषयमा प्रवाह हुने चेतना अझ बढी महत्वको हुने बताउँछन् । डा राईले महोत्सवमा दुई दिनसम्म बिरामी जाँचेर सेवा पु¥याएका छन् । “म आजसम्ममा धेरै स्वास्थ्य शिविरमा सहभागी भएको छु”, डा राई स्वास्थ्य महोत्सवको अनुभव सुनाउँदै भन्छन् – “तीभन्दा यो महोत्सव फरक प्रकृतिको पाएँ ।” महोत्सवमा दैनिक हजारौँको सहभागिताले सर्वसाधारण यस्ता गैरराजनीतिक कार्यक्रम रुचाउँदारहेछन् भन्ने देखाएको उनको धारणा छ ।

नेपाली काँग्रेसले आयोजना गरे तापनि महोत्सव सफल तुल्याउन स्थानीय नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपालगायत अन्य दलको सहयोगी भूमिका पाइएको छ । नेकपा (माओवादी केन्द्र)का मेचीनगर इन्चार्ज प्रकाश भण्डारी स्वास्थ्य महोत्सव अनुकरणीय कार्यक्रम भएको बताउँदै जनताका समस्यालाई प्रत्यक्ष सम्बोधन गर्ने कार्यमा राजनीतिक दलले भूमिका बढाउन यसले शिक्षा दिएको धारणा व्यक्त गर्छन् ।

महोत्सवमा बुढ्यौलीका कारण हुने रोगको उपचार गर्न ६० वर्षमाथि सय वर्ष नाघेका वृद्धवृद्धालाई ल्याइएको थियो । बाहुनडाँगी–२ बाट आउनुभएकी ९८ वर्षीया मैयादेवी थापाले दम बढेका कारण उपचार गर्न छोराबुहारीले ल्याएको बताए।

महोत्सवमा आजसम्मको चार दिनमा छ हजार पाँच सयभन्दा बढी सर्वसाधारणले पुर्जी काटेर प्रत्यक्ष उपचार सेवा लिएको महोत्सव सचिवालय संयोजक पुष्पराज पौडेलले जानकारी दिए । दिनहुँ एक हजार छ सयभन्दा बढी मानिस उपचारका लागि आइरहेको र त्यसमध्ये आँखाको उपचार लिन आउनेको सङ्ख्या दैनिक औसत चार सय रहेको पौडेल बताउछन् ।

महोत्सवको छलफलमा स्वस्थ खाना, स्वस्थ बाली, लागुपदार्थको दुव्र्यसन, सुरक्षित सवारी, स्वास्थ्य बिमा, स्वस्थ राजनीतिजस्ता विषयमा विज्ञले आफ्ना अनुभव, अनभूति र सुझाव राखेका छन् ।

‘लागुऔषधमुक्त नेपाली समाजको निर्माण’ विषयको छलफलमा सम्भाषण दिनुभएका नार्कोनन नेपालका अध्यक्ष वसन्तराज कुँवरले स्वास्थ्य महोत्सवको अवधारणाबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै मेचीबाट सुरु भएको सो अभियानलाई महाकालीसम्म पु¥याउनुपर्ने सुझाव दिए ।

स्वास्थ्यसम्बन्धी बहसमा माघ १४ गते स्वास्थ्यमन्त्री गगनकुमार थापासमेत सहभागी हुने कार्यक्रम छ । माघ १३ गते नेता प्रदीप गिरी, पत्रकार रवीन्द्र मिश्र, मुमाराम खनाललगायतले छलफलमा भाग लिने कार्यक्रम रहेको महोत्सवको परिकल्पनाकार एवम् नेतृत्वकर्ता काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा बताउछन् ।

“प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा पु¥याउने र परोक्ष रुपमा स्वस्थ जीवन जिउन ज्ञान बाँड्ने हाम्रो उद्देश्य हो”, शर्मा भन्छन् – “आमजनताको स्वास्थ्यका विषयमा पनि अब राजनीतिक दलहरूले ध्यान केन्द्रित गर्नुपर्छ भन्ने सन्देश गइरहेको छ, यो हाम्रो मूल अपेक्षा पनि हो ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *