हेल्पिङ ह्यान्डस् सामुदायिक अस्पतालबाट सेवा लिने तीन बर्षमा दुई लाख बढी

काठमाडौँ, ९ माघ । चावहिलस्थित हेल्पिङ हेन्डस् सामुदायिक अस्पतालबाट गएको तीन बर्षमा दुई लाख बढीले बहिरंग सेवा लिएका छन् । त्यस्तै साढे १२ हजार भर्ना भएका छन् भने ६ हजार बढीको शल्यक्रिया भएको छ ।

अस्पताल सञ्चालन गरेको संस्था हेल्पिङ ह्याण्डस् नेपालको शनिबार सम्पन्न नवौँ महाधिवेशन तथा साधारण सभामा सो जानकारी दिइएको हो ।

संस्थाका महासचिव टंकबहादुर श्रेष्ठले हेल्पिङ ह्याण्डस् नेपाल नामक गैरसरकारीसंस्थाद्धारा संचालित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालले उपलव्ध गराएको स्तरीय सेवाकै कारण छोटो समयमा लोकप्रिय भएको बताए ।

भावी योजना प्रस्तुत गर्दै महासचिव श्रेष्ठले हेल्पिङ ह्याण्डस् नेपालले आगामी दिनमा प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद्को अनुमतिमा सञ्चालन हुने प्रमाणपत्र तहको फार्मेसी, ल्याब, रेडियोग्राफी तथा फिजियोथेरापी कार्यक्रम सञ्चालन गर्ने बताए ।

आफ्नो संस्थाका लागि इन्द्रायणी गाविसमा नेपाल सरकारले उपलव्ध गराएको २० रोपनी जग्गामा बृद्धाश्रम तथा स्याहार केन्द्र स्थापना गर्ने बताए ।

महासचिव श्रेष्ठले अहिलेको अस्पतालबाट केही सय मिटर पर ६ तले नयाँ अस्पताल भवन बनेको भन्दै आगामी फागुनदेखि सो भवनबाट अस्पतालको सेवा सञ्चालन हुने बताए । उक्त भवनमा सरेपछि अहिलेको सेवा बाहेक थप डायलासिस, सिटीस्क्यान, म्यामोग्राम, भिआईपी वार्ड लगायतका सेवाहरु थप हुने जानकारी दिए ।

सामान्य स्वास्थ्य सिविर र निदानात्मक कार्यक्रम अन्तर्गत एक कोटे क्लिनिकबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेल्पिङ ह्याण्डस् नेपालले २०६४ साल देखि एक सय बेडको अस्पताल सञ्चालनमा ल्याएको हो ।

हाल यस अस्पतालमा ४७ विशेषज्ञ चिकित्सक, १४ चिकित्सक, ५० नर्स, २१ स्वास्थ्य प्राविधिक कर्मचारी समेत जम्मा १९१ कर्मचारीले सेवा प्रदान गरिरहेका छन् ।

अध्यक्षमा पुन डा. अधिकारी

यसैबीच हेल्पिङ ह्याण्डस् नेपालको नवौँ महाधिवेशनबाट डा कृष्ण अधिकारी पुन अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचित सात सहित नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा डा हेम लिम्वु, महासचिवमा टंकबहादुर श्रेष्ठ र कोषाध्यक्षमा भारती सापकोटा निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा गुप्तबहादुर श्रेष्ठ, भोलानाथ शर्मा र धनबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको कार्यकारिणी समितिबाट मनोनित हुने दुई सदस्यहरुमा लक्ष्मी शर्मा र मानवहादुर बुढा मगर रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *