स्वास्थ्य कार्यालय भित्र सुर्ति माड्छन सेवाग्राही, मुकदर्शक बन्छन् कर्मचारी

नवलपरासी ८ माघ ।  स्वास्थ्य सम्वन्धी हरेक नीति नियमको कार्यान्वयनमा अगुवाई गर्न रुचाउँने नवलपरासी जिल्ला स्वास्थ्य सुर्तिजन्य पदार्थ सम्वन्धी कानून कार्यान्वनय गर्न भने अहिलेसम्म चुकेको छ । जिल्लामा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसारका कुनै पनि प्रावधानको राम्ररी कार्यान्वयन हुन सकेको छैन् ।

ऐनले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तिजन्य पदार्थको प्रयोग गर्न बन्देज लगाएको छ । त्यस्तै ऐनले सरकारी कार्यालय, विद्यालय, धार्मिकस्थलका एक सय मिटर वरपर विक्री बिरतण गर्न समेत निशेध गरेको छ तर त्यसको समेत उलंघन भएको पाइएको छ ।

विक्रीवितरण निशेधित क्षेत्रमा निर्वाधरुपमा सुर्तिजन्य पदार्थको विक्री भईरहेको छ भने सेवन गर्न निशेध गरिएका क्षेत्रमा निर्वाधरुपमा सेवन भईरहेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भेषराज शर्मा भन्छन्, ‘अरु सबै नियममा नवलपरासी अगुवा भएर सफल कार्यान्वनय गराउँदै आएको हो तर सुर्तिजन्य पदार्थ नियन्त्रण गर्ने कानून कार्यन्वयनमा कठिनाई भईरहेको छ ।’  उनले स्वास्थ्यका कार्यलयमा स्टिकर टाँगेर सेवन गर्न निशेध गरिएको दावी गरे तर उनकै कार्यलयमा कर्मचारीहरुले सुर्ती माडेर बसेको र सेवाग्राहीसंग सुर्ति बाँढेर सेवन गरेको देखिएको थियो ।

शर्माले तराई र त्यसमा पनि भारतको खुल्ला सिमानाका कारण सिमाक्षेत्रमा खुल्लारुपमा सुर्तिजन्य पदार्थ भित्रिएको र त्यसको नियन्त्रण गर्न गाह्रो भएको बताए ।

तिलकपुर गाविस खोकरपुराकी सामाजिक कार्यकर्ता सुनिता भट्टराईले सुर्तिजन्य पदार्थको सेवनकर्तालाई कहाँ बसेर खान पाइने वा नपाईने भन्ने बारेमा जानकारी नभएको बताइन् । ‘सचिवको कार्यकक्षमा सुर्ति माडिरहेका हुन्छन्, सर्वदलिय बैठकमा सहभागीहरुले निर्वाध रुपमा सुर्ति खाने र फाल्ने गर्छन् । नियममा यसलाई पूर्णरुपमा निशेध गरिएको छ,’ उनले भनिन् ।

तिलकपुर स्वास्थ्य चौकीका सीअहेव बाबुराम तिमल्सेनाले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि आफूहरुले प्रयास गरेपनि पूर्ण रुपमा ऐन कार्यन्वयन गराउन नसकिएको बताए । उनले आफूले देखेसम्म सुर्तिजन्य पदार्थको प्रयोग कर्तालाई सेवन गर्न रोक्ने गरेको बताए । यद्धपी आफ्नो प्रयास प्रभावकारी नभएको उनी आफैले स्वीकारे ।

मनरी स्वास्थ्य चौकीका सीअहेव ओमनारायण देवकोटाले गाविसमा सुर्तिजन्य पदार्थको नियन्त्रणसम्वन्धी जनचेतनामुलक कार्यक्रम अघि सारिएपनि प्रभावकारी नभएको बताए ।

स्वास्थ्यका निमित्त प्रमुख शर्माले अहिलेसम्म सुर्तिनियन्त्रण कार्यक्रम प्रभावकारी नभएपनि अवका दिनमा यसलाई प्रभावकारी बनाउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *