“चर्पीमा दिसा गर्नेछौँ, साबुनपानीले हात धुनेछौँ ”

(युवराज पाण्डे)बनेपा, ६ माघ । “पूर्वमा सुनकोसी सिमाना, पश्चिममा झिउ खोला, उत्तरमा खरेलथोक गाविस र दक्षिणमा सुनकोसी र झिउखोला दोभान भित्रको सिमानाभित्र हामी सबै चर्पीमा दिसा गर्नेछौँ र दिसा गरेपछि साबुन पानीले हात धुनेछौँ ।”

आ–आफ्नो आसनबाट सबैजना उठ्छन र सोही वाक्यांश दोहो¥याउँछन्, झट्ट सुन्दा अपत्यारिलोजस्तो लाग्ने वाक्यांश काभ्रेपलाञ्चोकको कोसिदेखा गाविसमा बुधबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख मोहनलाल जैसीले खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा सहभागीलाई शपथ खुवाएको हो ।

उनले गाविसको सिमानाभित्र खुल्ला दिसामुक्त घोषणा गरिएकाले चर्पीमा दिसा गर्ने र साबुनपानीले हात धुने प्रतिबद्धता पूरा गरेर गाविसलाई सरसफाइमा नमुना गाविस बनाउन पनि आग्रह गरे।

डिभिजन प्रमुख जैसीले सार्वजनिक स्थानमा नयाँ शौचालय निर्माण गर्न तथा निर्माण गरिएका शौचालय व्यवस्थित गर्न नसकेको चुनौती भएको उल्लेख गर्दै भूकम्पका कारण घर भत्केर एउटै छानामुनि, खोर, गोठ तथा भान्साकोठा सँगै रहेकाले सरसफाइमा बाधा आएको बताए ।

कोसिदेखा–७ ठाँटीका नरहरि खकुरेलले चर्पी बनेपछि नयाँ अनुभव हासिल गरेको उल्लेख गर्दै विगतमा चर्पी नहुँदा वनपाखामा खुल्ला ढङ्गले दिसा गरेको बताए ।

केही वर्षअघि मात्रै चर्पी बनेको जानकारी दिँदै चर्पी नहुँदा खकुरेलले आफ्ना बालबालिकालाई वनपाखामा दिसा गराउन समाएर लैजानुपर्ने अवस्थाको अन्त्य भएकोमा खुसी व्यक्त गरे । “खुल्ला दिसा बस्दा डर, त्रास भएको अनुभव हुन्थ्यो तर अहिले पानीको प्रबन्धसहित निर्धक्क दिसा बस्न पाइन्छ”, उनले भने ।

केही वर्षअघि मात्रै अधिकांशको घरमा चर्पी नभएको जानकारी दिँदै उनले गैरसरकारी संस्थाको अनुदानमा धेरैले चर्पी निर्माण गरेको बताए । गैरसरकारी संस्था क्रिडाक नेपालकी सुपरभाइजर राधिका सुवेदीले चर्पी बनेपछि मानवीय व्यवहार पनि परिवर्तन भएको उल्लेख गर्दै एउटा चर्पीका लागि न्यूनतम रु पाँच हजार खर्च भएको बताए ।

सो संस्थाका अनुसार चारसय ५० घरधुरी भएको गाविसमा चारसय ५० चर्पी निर्माण भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अनुसार जिल्लामा खुल्ला दिसामुक्त हुने गाविसको सङख्या ३२ पुगेको छ । सन् २०१७ को अन्त्यसम्ममा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरी स्वस्थ्यकर बानीको विकास गर्दै पूर्ण सरसफाइ हासिल गर्ने लक्ष्य लिइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *