वीर अस्पतालले आफ्नै फार्मेसी सञ्चालन ग¥यो

- नेपाली हेल्थ

काठमाडौँ, ५ माघ । नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले आजबाट आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले मन्त्रालयले दिएको रु ३० लाखबाट फार्मेसी सुरु गरिएको बताए।

उनले भने, “फार्मेसीबाट बिरामीले बजार मूल्यभन्दा सस्तोमा गुणस्तरीय औषधि खरिद गर्न सक्नेछन् । अहिले उपलब्ध नभएका औषधि बिस्तारै थप गर्दै जानेछौँ ।” सरकारी अस्पतालले आफैँले फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारले केही वर्षअघि नै निर्णय गरेको थियो । तर धेरै अस्पतालले विभिन्न कारण देखाउँदै फार्मेसी सञ्चालनमा ल्याएका थिएनन् ।

स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा अनिवार्य रूपमा अस्पताल आफैँले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पताललाई अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नैपर्ने बाध्यता सिर्जना भएको छ ।

यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालले अस्पताल परिसरमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन आदेश दिइसकेको छ । यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधि किन्न बाध्य भएका थिए । निजी फार्मेसीले सरकारी अस्पतालभित्र औषधि पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन खुवाउने चलन थियो । सर्वोच्च अदालतले आदेश दिए पनि निजी फार्मेसीको दबाबमा सरकारी अस्पतालले आफ्नो छुट्टै फार्मेसी सञ्चालन गर्न सकेको थिएन ।

बिरामीले एउटै औषधिलाई फार्मेसीपिच्छे फरक फरक मूल्य तिर्नुपर्ने बाध्यता थियो । अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधिलगायत अन्य सामग्रीमा लिएको मूल्यभन्दा २० देखि ४० प्रतिशतसम्म छुट हुनेछ ।

मन्त्रालयले केन्द्रीय अस्पतालमा रु ३० लाख, क्षेत्रीय अस्पताल रु २५, उपक्षेत्रीय अस्पताल रु २० र अञ्चल अस्पतालमा रु १५ लाख रुपैयाँ बीउ पुँजीका रूपमा पठाइसकेको छ ।

यसैगरी जिल्ला अस्पताललाई कुल रु तीन करोड ४४ लाख फार्मेसी सञ्चालनका लागि निकासा भइसकेको मन्त्रालयले जनाएको छ । रासस


Facebook Comment


थप समाचार