रिडी मेलामा निःशुल्क स्वास्थ्य परीक्षण

पाल्पा, २ माघ । माघे सङ्क्रान्ति मेलामा आउनेलाई लक्षित गरेर रिडीमा निःशुल्क स्वास्थ्य शिविरबाट ३५० भन्दा बढीले फाइदा लिएका छन् ।

पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गम रुरु क्षेत्रको रिडीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट महिला, बालबालिका तथा वृद्धवृद्धा स्वास्थ्य सेवा पाएपछि खुसी छन् ।

जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको चण्डीप्रसाद गण, पाल्पाले राखेको शिविरमा बालबालिका, वृद्धवृद्धा, महिलाले स्वास्थ्य जाँच गराउन पाएपछि सेवाग्राही खुसी देखिएकोे गणपति दीर्घबहादुर चन्दले जानकारी दिए ।

कालीगण्डकीमा स्नान गर्न र मेला भर्न हजारौँ श्रद्धालु भक्तजन रिडीको रुरु क्षेत्रमा आउने गर्छन् । रिडीमा माघेसङ्क्रान्ति मेला भर्न पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत, तनहु, अर्घाखाँची, रुपन्देही, प्यूठान, बागलुङ र भारतका विभिन्न क्षेत्रबाट समेत आउने गर्दछन् ।

साधारण चेकजाँच, दाँत, नाक, कान, घाँटीको चिकित्सक व्यवस्था गरिएको र शिविरमा निःशुल्क औषधि वितरण गरिएको सन्चो क्लिनिक तथा मेडिकल हलका डाक्टर झपेन्द्र ढकालले बताए । स्वास्थ्य जाँच गराउन आउनेहरुमध्ये अधिकांशलाई दम, निमोनिया, उच्च रक्तचापको समस्या देखिएको छ ।

शिविरमा जिल्ला सरकारी अस्पताल, निजी क्लिनिकका डाक्टरले स्वास्थ्य परीक्षण गर्नुका साथै विभिन्न औषधि कम्पनीले सहयोग गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *