महिलाले सुत्केरी भत्ता पाएनन्

 

बैतडी, १९ पुस । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई प्रोत्साहनस्वरुप दिने भत्ता बैतडीका महिलाले भने पाउन सकेका छैनन् । सरकारले सुत्केरी भत्ताँसँगै सुत्केरीलाई घर जानका लागि यातायात भत्तासमेतको व्यवस्था गरेको छ ।

कात्तिक पहिलो साता सुत्केरी भएकी श्रीकोट–२ की सीता सिंहले हालसम्म पनि सुत्केरी भत्ता नपाएको बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालयले समयमा सुत्केरी भत्ता नपठाएको जनाइएको छ ।

“जिल्लाबाट समयमै बजेट निकासा नभएकाले सुत्केरीलाई प्रोत्साहन भत्ता दिन नसकिएको हो” – श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले भने ।

स्वास्थ्य संस्थाबाट घर फर्किंदा एक हातमा बच्चा र एक हातमा प्रोत्साहन रकम लिएर फर्कनुपर्ने हो । सरकारले सुरक्षित प्रसूति सेवालाई प्रवद्र्धन गरी मातृ मृत्युदर तथा शिशु मृत्युदर घटाउने उद्देश्यले प्रोत्साहन भत्ताको सुरुवात गरेको हो । तर, बैतडीमा भने जहिले पनि बजेट अभाबको बहानामा सुत्केरीले भत्ता पाउँदैनन् ।

“कसै–कसैलाई आफूसँग भएका बेला खल्तीबाट दिन्छौँ” – स्वास्थ्य चौकी इन्चार्ज भाटले भने । स्वास्थ्य चौकीसँग अन्य स्रोत नहँुदा पनि यो समस्या आउने गरेको उनले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणराज अवस्थीले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा यो समस्या नभए पनि स्वास्थ्य चौकीमा भने समस्या रहेको स्वीकारे ।

आमा र बच्चाको मृत्युदर घटाउनका लागि सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा हिमाली जिल्लामा प्रति व्यक्ति रु एक हजार ५००, पहाडी जिल्लामा रु एक हजार र तराईका जिल्लामा रु ५०० प्रोत्साहन भत्ता स्वरुप दिँदै आएको छ । यस्तै चार पटक गर्भवती जाँच गराउने महिलालाई थप रु ४०० दिने गरेको छ ।

प्रोत्साहन भत्ता उपलब्ध गराउने प्रावधानले विपन्न समुदायका गर्भवती सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जाने क्रम बढेको छ । साथै कमजोर आर्थिक अवस्था भएका परिवारलाई प्रोत्साहन रकमले सुत्केरीको स्याहारमा सहयोग पुग्ने गरेपनि भत्ता नै नपाएपछि सुत्केरी भएका महिलाले समेत गुनासो गर्न थालेका छन् ।

सरकारले मातृ मृत्युदर घटाउन विसं २०६५ देखि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *