कुष्ठरोगका कारण ४० वर्षदेखि खोला किनारमा बास

(लोकेन्द्र खनाल) रुकुम, १८ पुस । कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण रुकुमको बाँफीकोटकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आएकी छन् ।

बाँफीकोट–८ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको छेउमा बस्न बाध्य भएकी हुन् । सानै उम्मेरमा कुष्ठरोग भएपछि उनलाई आफन्त र गाउँलेले खोलाको किनारमा बनाइदिएको सानो छाप्रोमा बस्दै आएकी हुन् ।

१३ वर्षको उम्मेरमै कुष्ठरोग लागेको र त्यस बेलादेखि आफू एक्लै बस्दै आएको केसीले बताइन् । लामो समयदेखि कुष्ठरोगले पीडित बनेकी केसीलाई अहिले भने सञ्चो भइसकेको छ । रोग सञ्चो भए पनि गाउँमा आफूलाई हेर्ने दृष्टिकोण नफेरिएको उनको गुनासो छ ।

“अहिले पनि गाउँमा कतै म जाँदा कुष्ठरोगी आई भन्दै सबै टाढा भाग्छन्, केसीले भनिन् त्यही भएर पनि म यही कटेरोमा (सानो छाप्रो) बस्छु ।” उनी अहिले अपाङ्ग बनेकी छन् । केसीका हात, खुट्टाका औँला छैनन् भने शरीरमा गाठागुठी परेका छन् ।

सुनसान खोलाको छेउमा रहेको सानो छाप्रोमा बस्ने केसीले गाउँमा मागेर छाक टार्ने गरेको बताइन् । बस्ने बास, खाने गाँसका साथै रात काट्नको लागि कपडा समेत नभएपछि अहिले चिसोमा निकै समस्या भएको उनले बताइन् । “चिसोको समयमा त रातभरि आगो बालेरै बस्छु, चिसोले सुत्न सक्दिन उनले भनिन्, मलाई सहयोग गर्ने कोही भए कपडा र यो मेरा घर बनाइदियोस् ।” रोग लागेपछि औषधि उपचार गर्ने ठाउँ नहुँदा धामीझाँक्रीको कारणले गर्दा आफू अपाङ्ग भएको केसीको भनाइ छ ।

उनी अहिले लट्ठीको सहाराले गाउँघरमा जानआउन सक्छिन् । अहिले पनि केसीलाई कसैले घरभित्र जान भने दिँदैनन् । गाउँ घरमा गए पनि आँगनभन्दा टाढाबाटै खानेकुरा माग्ने गरेको उनले बताइन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *