अत्यधिक चिसोले पनि हुनसक्छ मस्तिष्कघात
काठमाडौँ, १७ पुस । फेरिएको जीवनशैलीका कारण आजकल धेरै युवामा उच्च रक्तचापको समस्या बढाएको चिकित्सकले बताउँदै आएका छन् । जाडोमा यसैपनि मानिसको रक्तचाप उच्च हुने हुनाले धेरै शारिरीक समस्या निम्तिने गरेको छ ।
उच्च रक्तचाप देखिएपछि बिरामीले औषधि सुरु गर्ने र बीचमा छाड्ने, पानी कम पिउने बानीका कारण आजकल मस्तिष्कघात (नसा फुटेर मस्तिष्कमा रगत बग्ने अबस्था ) रोगका बिरामी पनि बढ्न थालेका छन् ।
जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा वसन्त पन्त बताउछन् । उनका अनुसार जाडोमा पानी पनि कम पिउने मस्तिष्कघातको अर्को कारण भएको चिकित्सकको भनाइ छ ।
उनले अहिले स्नायु अस्पतालमा पक्षघात र मस्तिष्कघात (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) का बिरामीले भरिएको बताए । उनले भने, “स्ट्रोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ ।”
उनका अनुसार अरु समयमा स्ट्रोक हुन्छ तर जाडोमा स्ट्रोक बिरामी बढी हुन्छन् । नसा फुटेर रक्तस्राव भएका बिरामी अझ बढी आउने गरेका छन् । बिहानै चिसोमा काम गर्ने, चिसो धाराको पानीमा टाउको थापेर नुहाउने, मर्निङ वाकमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ ।
डा. पन्त भन्छन्, “जाडोमा स्ट्रोकका बिरामी बढी हुन्छन् । धेरै मानिस उच्च रक्तचाप भएपछि औषधि खाने र बीचमा छाड्ने गरेका कारण पनि यस्तो समस्या बढी देखिएको छ ।”
स्ट्रोकको समस्याबाट पुरुषलाई भन्दा महिला बढी प्रभावित हुने गरेको डा पन्तको अनुभव छ । महिलामा हर्मोनका कारणले बढी रक्तचाप घटबढ भइरहने र परिवार नियोजनका साधन खाने र लगाउने महिलालाई पनि बढी मात्रामा यस्तो समस्या देखिएको उनले बताए ।
स्ट्रोकबाट बच्न बढी पानी पिउने, सकेसम्म परिवार नियोजनका (पिल्स, सुई, कपर्टी नरपलान्टलगायत) साधन प्रयोग नगर्ने र चिसोमा बिहानै हुस्सु लागेको समयमा बच्ने, घर बाहिर ननिस्कने, मोटरसाइकलमा बिहानै नहिँड्ने गर्नुपर्छ ।
चिसोमा अचानक बेसरी टाउको दुखेमा, बान्ता भएमा वा रक्तचाप उच्च भएमा तुरुन्त चिकित्सक कहाँ गई उपचार गराइहाल्नुपर्छ । रासस
सम्पर्क इमेल : [email protected]