मिर्गौलाको निःशुल्क डायालासिस सेवा थप ११ वटा अस्पतालबाट (सूची सहित)

फाईल तस्बिर

काठमाडौं, १४ पुस – सरकारले १० वटा निजी सहित ११ वटा अस्पताललाई निशुल्क डायलासिस सेवा उपलव्ध गराउन अनुमति दिएको छ । यो संगै निशुल्क डायालसिस दिने सरकारी तथा निजी अस्पतालहरुको संख्या ४३ पुगेको छ । यसअघि ३२ वटा स्वास्थ्य संस्थाबाट निशुल्क डायलासिस सेवा हुँदै आएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार डायलासिसको लागि नयाँ अनुमति पाउने काठमाडौँ उपत्यकाका अस्पतालहरुमा बीरेन्द्र सैनिक अस्पताल छाउनी, ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासी, अल्का अस्पताल जाउलाखेल, सुमेरु अस्पताल धापाखेल, हिमाल अस्पताल ज्ञानेश्वर र बयोधा अस्पताल बल्खु रहेका छन् ।

त्यस्तै उपत्यका बाहिर गौतमबुद्ध सामुदायिक अस्पताल बुटवल, सिद्धार्थ सिटी अस्पताल, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र बिराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेको छ ।

स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले डायलासिस सेवा सञ्चालनका लागि निवेदन दिएका र मापदण्ड पुगेका अस्पताललाई स्वीकृति दिएको बताए ।

मिर्गौलाका सबै बिरामीलाई सरकारले निशुल्क डायलासिसको व्यवस्था भएको र त्यो कार्यान्वनय गर्न सरकारी अस्पतालले मात्रै सम्भवन नभएकोले निजी अस्पताललाई समेत अनुमति दिइएको लामिछानेले बताए ।

अनुमति पाएका अस्पतालले डायलासिस गराएबापत सरकारले अनुदान दिने गर्र्दछ । अघिल्लो सरकारले मिर्गौलाका बिरामीलाई साताको दुईपटक डायलासिस गर्न आजिवन निशुल्क गर्ने घोषणा गरेको थियो । तर स्वास्थ्य मन्त्री गगन थापाले कात्तिकको तेस्रो साता सो निर्णयलाई संसोधन गर्दै मिर्गौलाका बिरामीले आवश्यक परेजति डायालासिस सम्पूर्ण रुपमा निशुल्क गर्ने व्यवस्था गरेका थिए ।

प्रत्येक अंचल अस्पतालहरुलाई २ ओटा डायलाईसिस मेसिन किनेर सेवा सुरु गर्न मन्त्रालयले आवश्यक रकम पनि पठाइ सकेको छ । सो रकम अनुसार सेती अंचल अस्पताल सहित केही अस्पतालहरुमा सुरु भईसकेको मन्त्री थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।

मन्त्रालयले काठमाडौ बाहिरका अंचल अस्पतालहरुको माग अनुसार थप २० ओटा मेसिन पनि वितरण गर्ने तयारी गरेको सल्लाहकार पौडेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *