रेडक्रसका स्वास्थ्य गतिविधि विस्तार हुने

काठमाडौँ, ९ पुस – नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत उपकरणसहितको फिल्ड अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

त्यस्तै, रेडक्रसले आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स, प्राथमिक उपचार, रक्तसञ्चार, मनोसामाजिक सहयोगलगायत सामान्य अवस्थामा बालबालिका युवा, महिला तथा जेष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धनका गतिविधि समन्वयात्मक तरीकाले विस्तार गर्दैछ ।

आज चितवनमा सुरु भएको रेडक्रस सोसाइटीका स्वास्थ्यसम्बन्धी गतिविधिको तीन दिने वार्षिक समीक्षा बैठकमा सो जानकारी दिइएको हो ।

समीक्षाको क्रममा सरकारका विभिन्न निकायका प्रतिनिधिले रेडक्रसले सञ्चालन गरेका एम्बुलेन्स, रक्तसञ्चार, खानेपानी, सरसफाइ, अन्धोपन निवारणलगायतका गतिविधिको सराहना गरिएको थियो ।

आगामी छ महिनाभित्र काभ्रे, सिन्धुपाल्चोक र काठमाडौँ उपत्यकामा उपस्वास्थ्य चौकीहरु पुनःनिर्माण गरिने बैठकमा जानकारी दिइएको थियो । त्यस्तै, प्राथमिक उपचारका लागि मोबाइल एप्लिकेसन बनाइने, बढ्दो सडक दुर्घटनालाई ध्यानमा राखी पैदलयात्रु, चालक, यात्रु र बालबालिका लक्ष्यित शैक्षिक गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

बैठकमा समाजकल्याण परिषद्, नेपाल सरकारका स्वास्थ्यमन्त्रालय र त्यसअन्तर्गत शुक्रराज ट्रपिकल अस्पताल, जनस्वास्थ्य प्रयोगशालालगायत विभिन्न निकाय, महिला तथा बालबालिका मन्त्रालय, संयुक्त राष्ट्रसङ्घका निकाय, गैरसरकारी संस्था, प्राथमिक उपचारका विषय विज्ञहरु, नेपाल प्रहरी, नेपाल रेडक्रस, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ एवम् विभिन्न देशबाट आएका रेडक्रस प्रतिनिधि गरी १०० बढीको सहभागिता थियो ।

बैठकको उद्घाटन गर्दै नेरेसो अध्यक्ष सञ्जीव थापाले सरकारको स्वास्थ्य नीति, अन्तर्राष्ट्रिय मञ्चहरुले औँल्याएका प्राथमिकता र नेपाल रेडक्रसको सातौँ विकास योजनामुताविक स्वास्थ्य गतिविधि अघि बढिरहेको बताए।

सांसद डा. विजयकुमार सिंहले रेडक्रसले स्वास्थ्यका प्रवद्र्धनात्मक, रोकथाममूलक र उपचारात्मक सबै क्षेत्रमा काम गर्न सक्छ भन्ने उदारहण प्रस्तुत गरिसकेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *