आइओएम आन्दोलन : तीन साता तालाबन्दी पछि बल्ल बार्ताको पहल

काठमाडौँ, ८ पुस – डीन नियुक्ति प्रक्रियाको विरोधमा झण्डै तीन साता त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा लागेको ताला अझै खुलेको छैन् । कहिले खुल्छ भन्ने अझै टुंगो लागेको छैन् ।

आईओएमका प्राध्यापक, नर्स तथा कर्मचारीहरुले त्रिवि बचाउ संघर्ष समितिको नामबाट आन्दोलन गरेका हुन् । उनीहरुले विधिसम्वत तरिकाले नियुक्त भएका पूर्व डीन प्राडा केपी सिंहलाई राजिनामा दिन बाध्य पारिएको र डीन प्राडा जगदीश अग्रवाललाई नियम मिचेर डीन नियुक्ती गरेको आरोप लगाउँदै आएका छन् ।

उनीहरुले डीनमा प्राडा अग्रवाल नियुक्त भएकै दिनदेखि डीन कार्यलयमा तालाबन्दी गरेका छन् भने पठन पाठन समेत अवरुद्ध पार्दै आएको छन् ।

संघर्ष समितिका संयोजक डा. सुरेश उप्रेतीले आफूहरु व्यक्तिको विरोध भन्दा पनि प्रक्रियाको विरोध गरेको बताए । उनले कुनै व्यक्तिलाई कोही व्यक्ति मन नपर्दैमा हटाउने र मन पर्दैमा नियुक्ती गर्ने व्यवस्थाको अन्त्य हुनुपर्ने आफुहरुको माग रहेको बताए ।

संघर्ष समितिका सहसंयोजक डा. अभिमन्यु झाले लामो समय देखिको आन्दोलनलाई टुंगोमा पुरयाउन बार्ता अघि बढाईएको बताए । उनले आउँदो आईतबारसम्म बार्ताले ठोस रुप लिनसक्ने आकलन गरे ।

यसअघि विहीबार डीन अग्रवालसंग संघर्ष समितिका प्रतिनिधीहरुले भेट गरेका थिए । सो क्रममा प्राडा अग्रवालले ताला खोल्न, अध्यापन सुचारु गर्नासाथ डीन नियुक्तिको मापदण्ड आफैले अघि बढाउने बताएका थिए ।

तर संघर्ष समितिको शुक्रबारको बैठकले सो प्रस्तावलाई टुंगोमा पुरयाउन सकेन । ‘कतिपय साथीहरु बाहिर हुनुहुन्छ । भएका साथीहरुले डीनसंग बार्तामा नबस्ने, बस्नै परे त्रिवि पदाधिकारीसंग बस्ने र त्यहाँ डीनलाई समेत बोलाएर छलफल गर्नुपर्छ भन्नुभयो,’ डा झाले भने ।

संघर्ष समितिले प्राडा रमेशकान्त अधिकारीको नेतृत्वमा बनेको समितिले गरेको मापदण्ड सम्वन्धी प्रस्तावलाई केही संसोधन गरि पास गर्नुपर्ने र त्यसको आधारमा नयाँ आउने डीनलाई कसैले विरोध गर्न नपाईने प्रतिवद्धता चाहिने बताएका छन् ।

उनीहरुको भनाई प्राडा गोविन्द केसीले आफ्नो अनुकुलको व्यक्ति नियुक्त नहुनासाथ अनसन बस्ने र राजिनामा दिन बाध्य पार्ने भएकोले यस्तो प्रतिवद्धता खोजिएको हो । हुनपनि पछिल्लो समयका डीनहरु  प्राडा धर्मकान्त बास्कोटा, प्राडा शशि शर्मा, प्राडा प्रकाश सायमी, प्राडा राकेश श्रीवास्तव, प्राडा केपी सिंह र अहिलेका डीन प्राडा जगदीश अग्रवालको नियुक्ती र राजिनामामा डा केसीकै अनसन जोडिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *