स्वास्थ्य संस्थाका ४० वटा नयाँ भवन निर्माण हुने

बैतडी, १ पुस –  सुदूरपश्चिमका नौ जिल्लामा स्वास्थ्य संस्थाका ४० वटा नयाँ भवन निर्माण हुने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले आवश्यकता पहिचान गरी सुदूरपश्चिमका ४० वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि स्वीकृति दिएपछि सो सम्बन्धी प्रक्रिया अगाडी बढाएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी बन्दना भट्टले जानकारी दिइन् ।

उनले विभिन्न जिल्लामा अस्पताल, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित चिकित्सक आवास गृहसमेत निर्माण गर्न लागिएको बताइन्।
सूचना अधिकारी भट्टका अनुसार नयाँ भवन निर्माण हुनेमा एउटा कर्मचारी आवासगृह, एउटा  अनमी आवासगृह, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, चारवटा बर्थिङ युनिट र ३३ वटा स्वास्थ्यचौकी रहेका छन् ।

ती मध्ये सबैभन्दा बढी बैतडीमा नयाँ भवन निर्माण हुन लागेका हुन् । बैतडीको आमचौरा, शिवलिङ, सिगास, पञ्चेश्वर, रोडिदेवल, विशालपुर र गिरेगडा, शिखरपुर, महारुद्र, गुरुखोला, बासुलिङ र हाट गरी १२ वटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने उनले बताइन्।

सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार डोटीको काडामाडौँ, तिखात्तर, मुडेगाँउ, बगलेक, मान्नाकपाडी, कफल्लेकी, बाझँककानी र बर्छैन् देवली गरी आठवटा स्वास्थ्यचौकी, अछामको बैजनाथ र ढकारी स्वास्थ्यचौकी र बझाङको भामचौर, भमेना, मटेला, पारकाट्ने रकफलसेरी गरी पाँचवटा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण हुने छन् ।

यसैगरी डडेल्धुराको शीर्ष र कोटेली स्वास्थ्यचौकी, बाजुराको जुगाड र गुदुखाती स्वास्थ्यचौकी, कैलालीको फूलवारी स्वास्थ्यचौकी, कञ्चनपुरको त्रिभुवनबस्ती स्वास्थ्यचौकी तथा दार्चुलाको हिकिला स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने छन् ।

चालु आर्थिक वर्षमा भवन निर्माणका लागि छनोटमा परेका ती संस्थाका भवन सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत निर्माण हुनेछन् । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि देशभरका ३४५ वटा नयाँ स्वास्थ्य संस्थाका भवन निर्माणका लागि छनोट गरेको हो ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *