बिरामीको मृत्युपछि अस्पतालमा झडप, तीन प्रहरी घाइते

0
Shares

 

चितवन, २२ मंसिर –  चितवन मेडिकल कलेजमा सुत्केरी गराउन ल्याइएकी एक महिलाको मृत्युका विषयमा आज अस्पतालमा झडप भएको छ ।

उपचारका लागि ल्याइएकी चितवनको भरतपुरस्थित कृष्णपुरकी २५ वर्षीया गर्भवती सुनिता गुरुङको उपचारका क्रममा यही मङ्सिर २० गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै स्थानीयले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गर्र्दै आएका छन् ।

सो विषयमा यहाँ आज भएको झडपका क्रममा तीन प्रहरी र एक जना बिरामी कुरुवासहित चार जना घाइते भएका छन् । भीड तीव्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।

उनका अनुसार झडपका क्रममा भीडको लठ्ठी र ढुङ्गा प्रहारबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराई, प्रहरी हवल्दार विनोद ठाकुर र प्रहरी जवान विवेक खत्री घाइते भएका हुन् ।

आन्दोलनकारीको ढुङ्गा लागेर बिरामी कुर्न आएका अर्का एक व्यक्तिसमेत घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालले लापर्बाही गरेर बिरामीको मृत्यु भएको भन्दै आक्रोसित स्थानीयले अस्पतालका चार वटा सिसामा तोडफोडसमेत गरेका छन् ।

सो क्रममा प्रहरीले पाँच जना आन्दोलनकर्तालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। पीडितको मागको विषयमा छलफल र वार्ता हुँदै गर्दा घटना बढेपछि अस्पताल परिसरमा विगत तीन दिनदेखि प्रहरी परिचालन गरिएको छ ।

यसैबीच चितवन मेडिकल कलेजले एक विज्ञप्ति जारी गरी जटिल रोग एक्लामेसिया(छारेरोग जस्तै) लागेकाले अस्पतालको प्रयासका बाबजुद उपचार सफल नभएको जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *